भेरी अस्पतालमा कोरोना संक्रमितको मृत्यु

कात्तिक २, नेपालगञ्ज ।
जिल्लास्थित भेरी अस्पतालमा एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । मृतकमा बर्दियाको ठाकुरबाबा नगरपालिका–६ का ४२ वर्षीय पुरुष छन् ।

उनको उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ । असोज १६ गते कोरोना संक्रमण पुष्टि भएका ती व्यक्तिको नेपालगन्ज मेडिकल कलेज कोहलपुरको कोभिड वार्डमा ११ दिनसम्म उपचार भएकोमा निको नभएपछि २७ गते भेरी अस्पतालमा भर्ना गरिएको थियो ।

आईसीयूमा भेन्टिलेटरको सहायतामा प्लाज्मा थेरापीबाट समेत उपचार गरिए पनि बचाउन नसकिएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए । कोरोनासँगै ती पुरुषमा डेंगुको संक्रमण समेत थियो ।

योसँगै बर्दियामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ पुगेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार लुम्बिनी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय २१ छ ।