भोटेकोशी बाढीका घाइते ५९ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार

काठमाडौँ । भोटेकोशी बाढीमा घाइते भएर उद्धार गरी काठमाडौँ ल्याइएका ८८ जनामध्ये ५९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र काठमाडौँका अनुसार बाढी प्रभावित रसुवा, नुवाकोटलगायत जिल्लाबाट घाइते ८८ जनालाई उद्धार गरी थप उपचारका लागि काठमाडौँ ल्याइएको थियो। तीमध्ये २९ जना उपचारपछि डिस्चार्ज भएर घर फर्किएका छन्।

केन्द्रका अनुसार शिक्षण अस्पताल महाराजगञ्जमा तीन जना घाइतेको उपचार भइरहेको छ भने त्यहाँ उपचाररत ११ जना डिस्चार्ज भएका छन्। राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि ल्याइएका ३१ जनामध्ये १२ जना उपचारपछि घर फर्किएका छन्।

त्यस्तै, वीर अस्पतालमा उपचारका लागि भर्ना भएका छ जनामध्ये पाँच जना डिस्चार्ज भएका छन् भने एक जनाको उपचार भइरहेको छ।

मनमोहन अस्पतालमा दुई जना, ग्रीनसिटी अस्पतालमा एक जना र नर्भिक अस्पतालमा दुई जना घाइतेको उपचार भइरहेको छ। त्यसैगरी मनमैजु शुभम् अस्पताल र नेपाल मेडिकल कलेजमा एक/एक जना घाइते उपचाररत छन्।