राजधानीमा बढ्दै कोरोना, दैनिक ७० प्रतिशत संक्रमित काठमाडौंका मात्र

कात्तिक २, काठमाडौं ।
राजधानीमा पछिल्लो समय कोरोना संक्रमण लगातार बढिरहेको छ । दैनिक थपिने संक्रमितमध्ये आधाभन्दा बढी काठमाडौंका हुन थालेका छन् ।

हाल उपत्यकामा प्रत्येक दिन दुई हजारभन्दा बढी संक्रमित थपिन थालेका छन् । यो साता लगातार उच्च विन्दुमा काठमाडौमा संक्रमित थपिएका छन् ।

देशभरका संक्रमितको करिब ७० प्रतिशत काठमाडौं उपत्यकामा भेटिन थालेका हुन् । काठमाडौंमा संक्रमितको संख्या ४३ हजार दुई सय ६५ छ ।

तीमध्ये काठमाडौं महानगरपालिकामा मात्र १८ हजारभन्दा बढी संक्रमित छन् । महानगरमा असोज २९ गतेसम्म कोरोना संक्रमितको संख्या १८ हजार तीन सय २० पुगेको छ । ३ सय जति पहिचान नखुलेका संक्रमित छन् ।

ज्यान गुमाउनेको संख्या एक सय आठ पुगेको छ । महानगरका सवै वडामा संक्रमित संख्या एक सयभन्दा माथि पुग्न लागेको छ । सबै वडाका संक्रमितले ज्यान गुमाइरहेका छन् ।

होम आइसोलेनमा बढे संक्रमित
महानगरका सबै वडामा संक्रमण फैलिइसकेको छ । महानगरको स्वास्थ्य शाखाले उपलव्ध गराएको तथ्यांअनुसार होम आइसोलेसनमा बस्ने संक्रमितको संख्या बढिरहेको छ भने अस्पताल र संस्थागत आइसोलेसनमा बस्नेको संख्या घटिरहेको छ ।

संक्रमितमध्ये ७ हजार ४ सय ६५ जना होम आइसोलेसनमा छन् । यो कुल संक्रमितको ४१ प्रतिशत हो ।

यस्तै, अस्पतालमा ६ सय ६२ जना संक्रमित छन् भने संस्थागत आइसोलेसनमा ५ सय ४७ जना रहेको महानगरको सहरी स्वास्थ्य महाशाखाको तथ्यांकमा उल्लेख छ ।

हालसम्म महानगरमा ९ हजार ५ सय जना संक्रमणमुक्त भएका छन् । महानगरले २८ हजार ६ सय ५४ जनाको कन्ट्याक्ट ट्रेसिङ गरेको छ । तीमध्ये १० प्रतिशत अर्थात् ३५सय ३९ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

काठमाडौं महानगरका २७ वटा वडामा २ सयभन्दा बढी संक्रमित छन् । सबैभन्दा धेरै वडा नम्बर १५ स्वयम्भुमा छन् । स्वयम्भुमा १४ सय ३८ जनामा संक्रमण पुष्टि भएको छ भने ९ जनाको मृत्यु भएको छ । सँगै रहेको वडा नं १६ बालाजुमा १४ सय ४० जनामा संक्रमण पुष्टि भएको छ । यहाँ ७ जना संक्रमितले ज्यान गुमाएका छन् ।