काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा गत बुधबार आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट र धादिङमा ठूलो जनधनको क्षति भएपछि सरकार खोज, उद्धार, राहत तथा पुनःस्थापनामा केन्द्रित भएको छ । विपद्को यस घडीमा स्वदेश तथा विदेशका विभिन्न मुलुक, संघसंस्था र व्यक्तिबाट सरकारलाई आर्थिक तथा मानवीय सहयोग प्राप्त भइरहेको छ ।
अर्थ मन्त्रालयका सहसचिव अमृत लम्सालका अनुसार हालसम्म एशियाली विकास बैंक (एडीबी)ले बजेटरी सहयोगका लागि ५० लाख अमेरिकी डलर अनुदान दिने प्रतिबद्धता जनाएको छ । त्यस्तै, विश्व बैंकले बाढी प्रभावित क्षेत्रका लागि सहुलियतपूर्ण कर्जाका रूपमा १६ करोड ७० लाख अमेरिकी डलर उपलब्ध गराउने घोषणा गरेको छ । नेपालले अनुरोध गरेपछि उक्त रकम प्राप्त हुने मन्त्रालयले जनाएको छ ।
अमेरिकी सरकारले ५ लाख अमेरिकी डलर तथा अष्ट्रेलिया सरकारले १० लाख अमेरिकी डलर नगद सहयोग गर्ने घोषणा गरेका छन् । एडीबीले प्राविधिक सहायताका लागि थप १ लाख ५० हजार अमेरिकी डलर उपलब्ध गराउने भएको छ ।
भारत सरकारले तीन चरणमा गरी हालसम्म ५७.५ टन मानवीय सहायता तथा अत्यावश्यक औषधि उपलब्ध गराइसकेको छ । चीन र अमेरिकाबाट घोषणा गरिएको मानवीय सहायता पनि शनिबारसम्म उपलब्ध हुने जनाइएको छ ।
चीन सरकारले बाढी प्रभावित क्षेत्रका लागि ३० वटा बेलीब्रिज सहयोग गर्ने घोषणा गरेको छ । साथै, दुई हजार शव व्यवस्थापनका लागि ‘एयर टाइट ब्याग’ उपलब्ध गराउने भएको छ । स्वीट्जरल्याण्डले संयुक्त राष्ट्रसंघको व्यवस्थापनमा खर्च गर्ने गरी १० लाख स्वीस फ्रयाङ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
यसैगरी, रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासंघ (आइएफआरसी)ले बाढी प्रभावितको खोज, उद्धार तथा पुनःस्थापनाका लागि तत्काल १२ लाख अमेरिकी डलर अर्थात् करिब १८ करोड ९६ लाख रुपैयाँ सहयोग गर्ने जनाएको छ । आइएफआरसीका महासचिव जगन चापागाईंले नेपाल रेडक्रस तथा राष्ट्रिय निकायसँगको समन्वयमा आवश्यक सहयोग परिचालनलाई निरन्तरता दिने बताएका छन् ।
गैरसरकारी संस्थाबाट पनि राहत तथा उद्धार सामग्री
अर्थ मन्त्रालयका अनुसार विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले खाद्यान्न, अस्थायी आवास, खानेपानी तथा सरसफाइ सामग्री, स्वास्थ्य तथा पोषण सामग्री र उद्धार उपकरण उपलब्ध गराइरहेका छन् ।
अक्सफामले २०० थान सरसफाइ सामग्रीका प्याकेट तथा एक हजार थान पानी शुद्धीकरण गर्ने एक्वा ट्याब्लेट उपलब्ध गराएको छ । साथै, रसुवा, धादिङ र नुवाकोटमा खानेपानी, सरसफाइ तथा स्वच्छतासम्बन्धी सहयोग गर्ने जनाएको छ । संस्थाले करिब १ करोड ६० लाख रुपैयाँ बराबरका अस्थायी आवास तथा भान्साका सामग्रीसहित गैरखाद्य सामग्रीसमेत तयारी अवस्थामा राखेको छ ।
डिसिए नेपालले धादिङमा १०० जोर गमबुट, २० थान पिक्याक्स, २० थान बेल्चा, ५० बक्स पञ्जा र ६ बक्स मास्क उपलब्ध गराएको छ । धादिङ र नुवाकोटमा परिवारका लागि टेन्ट, सौर्य बत्ती तथा खाद्यान्नको व्यवस्था भइरहेको छ । पाँच सय परिवारका लागि खाद्यान्न खरिद प्रक्रिया अघि बढाइएको छ भने शव व्यवस्थापनका लागि आवश्यक सामग्रीसमेत उपलब्ध गराउने जनाएको छ ।
सेभ द चिल्ड्रेनले नुवाकोटमा २०० थान गैरखाद्य राहत सामग्री वितरण गरिसकेको छ । थप ८०० थान सामग्री उपलब्ध रहेको र एक हजार घरधुरीलाई लक्षित गरी राहत वितरण गर्ने योजना बनाइएको छ ।
ब्लिकनाओ फाउन्डेसनले नुवाकोटका लागि ५.५ किलोभोल्ट एम्पियर क्षमताका दुई जेनेरेटर उपलब्ध गराएको छ । बीबीसी मिडिया एक्सनले रसुवाको रेडियो लाङटाङ तथा नुवाकोटका रेडियो चिम्टेश्वर र रेडियो त्रिशूलीका लागि ३.५ किलोवाट क्षमताका तीन जेनेरेटर उपलब्ध गराएको छ । यसबाट स्थानीय सञ्चारमाध्यमको नियमित प्रसारण पुनःसञ्चालनमा सहयोग पुगेको छ ।
एड्रा नेपालले रसुवा, धादिङ र नुवाकोटमा अस्थायी आवास तथा खाद्य राहतमा सहयोग गर्ने भएको छ । हेलेन केलर इन्टरनेसनलले आपत्कालीन पोषण सहयोग गर्ने तथा इस्लामिक रिलिफ नेपालले त्रिपाल, पी–फोम म्याट, डोरी र कम्बललगायत गैरखाद्य सामग्री उपलब्ध गराउने जनाएको छ ।
प्लान इन्टरनेसनल नेपालले रसुवा र नुवाकोटमा खानेपानी, सरसफाइ, गैरखाद्य सामग्री, अस्थायी आवास तथा भान्साका सामग्री उपलब्ध गराउने भएको छ । पिपुल इन निडले रसुवामा पहिलो चरणमा १४० थान गैरखाद्य सामग्री, १४० थान मर्यादा सामग्री र २७ वटा टेन्ट उपलब्ध गराएको छ ।
मर्सी कप्र्सले नुवाकोटका लागि २०० थान गैरखाद्य राहत सामग्री मौज्दातमा राखेको छ । साथै खानेपानी, सरसफाइ तथा मानसिक स्वास्थ्य र मनोसामाजिक सहयोगमा काम गर्ने जनाएको छ । युनाइटेड मिसन टु नेपालले धादिङमा खाद्यान्न तथा गैरखाद्य सामग्री उपलब्ध गराउने भएको छ ।
ह्यान्डिक्याप इन्टरनेसनलले नुवाकोट र रसुवामा घाइतेको व्यवस्थापन, भौतिक पुनःस्थापना तथा सहायक उपकरण उपलब्ध गराइरहेको छ । संस्थाले ११० थान गैरखाद्य सामग्री र विभिन्न प्रकारका १०० थान सहायक उपकरण उपलब्ध गराएको छ ।
केयर नेपालले रसुवा र नुवाकोटमा खाद्यान्न, आश्रय तथा गैरखाद्य सामग्रीसहित आपत्कालीन राहत प्याकेज उपलब्ध गराउने भएको छ । भान्साका सामग्री, ओछ्यान तथा बिछ्यौना, अस्थायी आवास सामग्री, पारिवारिक टेन्ट, सरसफाइ सामग्री र शिशु सामग्रीसमेत वितरण गर्ने योजना छ । महिला तथा बालबालिकाका लागि सुरक्षित तथा मैत्रीपूर्ण स्थान स्थापना गर्ने तयारीसमेत गरिएको छ ।
अर्थ मन्त्रालयका अनुसार बाढी प्रभावित क्षेत्रमा राहत तथा सहयोग खाद्यान्नमा मात्र सीमित नभई अस्थायी आवास, खानेपानी शुद्धीकरण, सरसफाइ, स्वास्थ्य तथा पोषण, महिला तथा बालबालिका संरक्षण, सञ्चार सेवा पुनःसञ्चालन, उद्धार उपकरण तथा घाइते र अपाङ्गता भएका व्यक्तिका लागि सहायक उपकरणसम्म विस्तार भएको छ ।
राहत कोषमा ४ अर्ब ३८ करोडभन्दा बढी
भोटेकोशी बाढीबाट प्रभावित नागरिक तथा क्षेत्रका लागि सरकारले स्थापना गरेको प्रधानमन्त्री राहत कोषमा विभिन्न क्षेत्रबाट रकम जम्मा हुने क्रम जारी छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार शुक्रबार रातिसम्म कोषमा ४ अर्ब ३८ करोड ८ लाख ५२ हजार २५२ रुपैयाँ जम्मा भएको छ । उक्त रकम नौ वटा वाणिज्य बैंकका खातामा जम्मा भएको नेपाली रकम हो ।
यसैगरी हिमालयन बैंक र लक्ष्मी बैंकका खातामा थप ६ लाख ८० हजार ६१८ अमेरिकी डलर जम्मा भएको कार्यालयले जनाएको छ । यो रकम करिब १० करोड ३८ लाख रुपैयाँ बराबर हुन्छ । (रासस)







