काठमाडौँ । काठमाडौँ जिल्ला प्रशासन कार्यालयले रसुवा, नुवाकोट र धादिङका बाढीपीडितका लागि राहत सामग्री सङ्कलन गरी एकद्वार प्रणालीमार्फत वितरण गर्ने व्यवस्था मिलाएको छ ।
कार्यालयले आज सूचना जारी गर्दै काठमाडौँमा रहेका सङ्घसंस्था, व्यक्ति, कम्पनी, क्लब तथा नागरिकस्तरबाट बाढीपीडितलाई सहयोग गर्न इच्छुकलाई खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा तथा अन्य आवश्यक घरायसी सामग्री उपलब्ध गराउन आग्रह गरेको हो ।
जिल्ला प्रशासन कार्यालयका सूचना अधिकृत खिमराज भुसालका अनुसार बुधबार आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत नदी किनारका क्षेत्रमा ठूलो क्षति भएपछि प्रभावित परिवारलाई तत्काल आवश्यक सामग्री उपलब्ध गराउन राहत सङ्कलनको व्यवस्था गरिएको हो ।
उनका अनुसार काठमाडौँमा सङ्कलन गरिएका सबै राहत सामग्री जिल्ला प्रशासन कार्यालयमार्फत एकद्वार प्रणालीमा व्यवस्थापन गरिनेछ । त्यसपछि सम्बन्धित जिल्लाका सुरक्षा निकाय, राहत तथा उद्धारमा खटिएका काठमाडौँस्थित सुरक्षा निकाय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँगको समन्वयमा सामग्री प्रभावितसम्म पुर्याइनेछ ।
राहत सामग्री सङ्कलन तथा समन्वयका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौँकी प्रशासकीय अधिकृत सुजनकुमारी बर्देवालाई सम्पर्क व्यक्ति तोकिएको छ । सहयोगका विषयमा उनलाई ९८४१७९८५४२ मा सम्पर्क गर्न सकिने कार्यालयले जनाएको छ ।
त्यस्तै, नगद सहयोग गर्न इच्छुकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको आधिकारिक खातामा वा कार्यालयले उपलब्ध गराएको क्यूआरमार्फत मात्र रकम जम्मा गर्न सक्ने सूचनामा उल्लेख छ ।
राहत वितरणमा दोहोरोपन हुन नदिन तथा सहयोग वास्तविक प्रभावित परिवारसम्म पुर्याउन एकद्वार प्रणाली लागू गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।






