काठमाडौं । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि उद्धार, खोजी, राहत तथा पुनःस्थापनाका कामलाई सरकारले तीव्रता दिएको बताएका छन्।
प्रधानमन्त्री शाहले शनिबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको विवरणअनुसार शनिबार साँझ ५ः३० बजेसम्म बाढी प्रभावित क्षेत्रबाट ७ हजार ५१४ जनाको हवाई तथा स्थलमार्गबाट उद्धार गरिएको छ।
जलविद्युत् आयोजनाका क्षेत्रमा फसेका २७९ जनाको उद्धार भइसकेको र अन्य प्रभावित क्षेत्रमा नेपाली सेनाले उद्धार जारी राखेको उनले जानकारी दिएका छन्। उद्धारका लागि नेपाली सेना र निजी क्षेत्रका गरी १६ वटा हेलिकप्टरले २३६ उडान भरिसकेका छन्।
बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका १८ हजार ७०८ सुरक्षाकर्मी परिचालन गरिएको छ। उद्धार कार्यमा भारतीय र चिनियाँ विज्ञसमेत नेपाली सेनासँगको समन्वयमा खटिएका छन्।
६७५ शव फेला
प्रधानमन्त्री शाहका अनुसार रसुवा, धादिङ, नुवाकोट, चितवन, तनहुँ, गोरखा, नवलपरासी पूर्व र नवलपरासी पश्चिमका विभिन्न स्थानबाट हालसम्म ६७५ वटा शव फेला परेका छन्।
पहिचान हुन नसकेका शवलाई ‘एयरटाइट ब्याग’मा सुरक्षित राखी ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३’ अनुसार व्यवस्थापन गरिने सरकारले जनाएको छ।
पहिचान खुलाउन सहयोग पुग्ने डीएनए तथा अन्य प्रमाण सुरक्षित राखिने र परिवारले पहिचान गरेका शव आफन्तलाई जिम्मा लगाइने प्रधानमन्त्री शाहले बताएका छन्।
३ हजार ५०० विस्थापितलाई अस्थायी आवास
बाढीबाट विस्थापित करिब ३ हजार ५०० नागरिकलाई विद्यालय तथा सार्वजनिक र सामुदायिक भवनमा अस्थायी आवासको व्यवस्था गरिएको छ। रसुवामा तीन र नुवाकोटमा १५ वटा शिविर स्थापना गरी राहत तथा व्यवस्थापनको काम भइरहेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कोषबाट प्रभावित पाँच जिल्लाका १५ स्थानीय तहमा अत्यावश्यक सेवा सञ्चालनका लागि ६ करोड ७५ लाख रुपैयाँ निकासा भइसकेको प्रधानमन्त्री शाहले जानकारी दिएका छन्।
राहत कोषमा ५ अर्बभन्दा बढी
प्रधानमन्त्रीका अनुसार शनिबार मध्यान्हसम्म प्रधानमन्त्री राहत कोषमा नौ वटा वाणिज्य बैंकका खातामार्फत ५ अर्ब ४ करोड ४६ लाख ८१ हजार ३६९ रुपैयाँ जम्मा भएको छ।
यस्तै, हिमालयन र लक्ष्मी बैंकका खातामा थप १८ लाख ८ हजार १८९ अमेरिकी डलर जम्मा भएको उनले बताएका छन्।
सरकारले आर्थिक सहयोग गर्दा आधिकारिक क्यूआर कोड तथा ‘प्रधानमन्त्री दैवी प्रकोप कोष’ र ‘प्रधानमन्त्री कोष’का खातामा मात्र रकम जम्मा गर्न आग्रह गरेको छ।
१६१ दूरसञ्चार टावर सञ्चालनमा
बाढीका कारण नेपाल टेलिकमका ३८ र एनसेलका २७ वटा बीटीएस टावरको सेवा अवरुद्ध भएको थियो। हालसम्म नेपाल टेलिकमका ९० र एनसेलका ७१ वटा टावर सञ्चालनमा ल्याइएको प्रधानमन्त्री शाहले बताएका छन्।
बाँकी टावरको मर्मत गरी सेवा सञ्चालनमा ल्याउने काम भइरहेको छ।
रसुवा राष्ट्रिय सडक सञ्जालमा जोडियो
वैकल्पिक सडक मर्मतपछि काठमाडौं–टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क–बोगटीटार–कालिकास्थान–धुन्चे सडकखण्ड साना चारपाङ्ग्रे सवारी सञ्चालन हुने गरी खुलाइएको सरकारले जनाएको छ। यससँगै रसुवा पुनः राष्ट्रिय सडक सञ्जालसँग जोडिएको छ।
त्यस्तै, गल्छी–मलेखु खण्डमा थुप्रिएको लेदो हटाएपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आएको तथा धादिङबेसी जाने वैकल्पिक सडकसमेत सञ्चालनमा ल्याइएको प्रधानमन्त्री शाहले बताएका छन्।
अन्तर्राष्ट्रिय सहयोग जुट्दै
सरकारका अनुसार एसियाली विकास बैंक (एडीबी) बाट ५० लाख अमेरिकी डलर अनुदान र १ लाख ५० हजार अमेरिकी डलर प्राविधिक सहायता, विश्व बैंकबाट १६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण, अमेरिकी सरकारबाट ५ लाख डलर र अष्ट्रेलियाबाट १० लाख डलर सहयोगको प्रतिबद्धता प्राप्त भएको छ।
भारतबाट तीन चरणमा ५७.५ टन मानवीय सहायता तथा अत्यावश्यक औषधि प्राप्त भएको र चीन तथा अमेरिकाबाट थप सहायता आउने क्रममा रहेको प्रधानमन्त्री शाहले बताएका छन्।
प्रधानमन्त्री शाहले विपद्को कठिन अवस्थामा उद्धार तथा राहतमा खटिएका सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, स्वयंसेवी संस्था र नागरिकप्रति आभार व्यक्त गरेका छन्। उनले सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई सत्य–तथ्यमा आधारित र पीडितको मनोबल बढाउने सूचना मात्र प्रवाह गर्न आग्रह गरेका छन्।






