रसुवामा पुनः बाढी आएपछि नारायणगढ-मुग्लिन, पोखरा र काठमाडौँ सडक पूर्ण बन्द

काठमाडौँ । रसुवा क्षेत्रमा पुनः बाढी तथा पहिरो आएपछि चितवन हुँदै सञ्चालन हुने प्रमुख राजमार्गमा सवारी आवागमन बन्द गरिएको छ। बाढीपहिरोको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय चितवनले अर्को सूचना जारी नभएसम्मका लागि सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाएको हो।

प्रहरीका अनुसार नारायणगढबाट पोखरा, मुग्लिन हुँदै काठमाडौँतर्फ जाने तथा काठमाडौँबाट सोही मार्ग हुँदै आउने सबै किसिमका सवारी साधनको आवागमन पूर्ण रूपमा बन्द गरिएको छ।

नदीमा पानीको बहाव बढ्नुका साथै पहिरोको जोखिमसमेत रहेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ।

प्रहरीले जोखिमयुक्त क्षेत्रमा नबस्न, सम्बन्धित निकायको निर्देशन पालना गर्न तथा अत्यावश्यकबाहेकको यात्रा स्थगित गर्न सर्वसाधारणलाई अपिल गरेको छ। साथै, आफ्नो र परिवारको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्न आग्रह गरिएको छ।