नारायणगढ (चितवन)। त्रिशूली र नारायणी नदी किनारमा फेला परेका पहिचान खुल्न नसकेका शवलाई भविष्यमा आफन्तले पहिचान गर्न सक्ने व्यवस्था मिलाउँदै चितवनको भरतपुर–१ स्थित देवघाट जङ्गलमा वैज्ञानिक विधिबाट जमिनमुनि व्यवस्थापन गर्न थालिएको छ।
रसुवाको भोटेकोशीमा आएको बाढीपछि नदीमा बगेर आएका शव लामो समयसम्म सुरक्षित राख्न कठिन भएपछि रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आइसीआरसी) को मापदण्डअनुसार व्यवस्थापन सुरु गरिएको हो। फिस्लिङदेखि गोलाघाटसम्मको नदी तटीय क्षेत्रमा हालसम्म २५९ शव फेला परेका छन्। तीमध्ये ९ जनाको पहिचान गरी आफन्तलाई बुझाइसकिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार शनिबारसम्म पहिचान हुन नसकेका ९६ शवमध्ये पहिलो चरणमा डिएनए परीक्षणका लागि नमूना सङ्कलन गरिएका २६ शवलाई देवघाटमा जमिनमुनि व्यवस्थापन गरिएको छ। नमूना सङ्कलन भइसकेका तर पहिचान हुन नसकेका अन्य शवलाई पनि क्रमशः देवघाटमा व्यवस्थापन गरिनेछ।
प्रत्येक शवलाई १.५ मिटर गहिरो खाडलमा छुट्टाछुट्टै राखिने र शवबीच ४० सेन्टिमिटर दूरी कायम गरिने प्रहरीले जनाएको छ। भविष्यमा डिएनए परीक्षणबाट पहिचान खुलेमा सहजै निकाल्न सकिने गरी व्यवस्थापन गरिएको छ।
प्रहरी उपरीक्षक पौडेलका अनुसार प्रत्येक शवको हात वा खुट्टामा नष्ट नहुने सङ्केत ट्याग राखिएको छ। शव पुरेपछि त्यसको ठीक माथि देखिने गरी स्ट्यान्ड राखेर कङ्क्रिट ढलान गरिनेछ र त्यसमै सम्बन्धित कोड नम्बर उल्लेख गरिनेछ।
भरतपुर अस्पतालका फरेन्सिक विज्ञ डा. कश्यप श्रेष्ठका अनुसार लामो समय नदीमा रहेका कारण शव सड्ने तथा गल्ने भएकाले बाह्य रूपमा पहिचान गर्न कठिन भएको छ। त्यसैले फरेन्सिक, डेन्टल र स्वास्थ्यकर्मीको टोलीले डिएनए परीक्षणका लागि आवश्यक जैविक नमूना सङ्कलन गरिरहेको छ। विशेषगरी पछाडिका मोलार दाँतबाट नमूना लिइएको र आवश्यक अन्य जैविक नमूनासमेत सुरक्षित राखिएको उहाँले बताए।
भरतपुर अस्पतालका प्रवक्ता डा. रामप्रसाद सापकोटाका अनुसार शुक्रबारसम्म चार फरेन्सिक टोली परिचालन भएकामा शनिबार थप सात चिकित्सकीय टोली परिचालन गरिएको थियो। ती टोलीमा भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, पुरानो मेडिकल कलेज भरतपुर, भेरी अस्पताल र नेपाल मेडिकल कलेजका चिकित्सक सहभागी छन्।
पुरानो मेडिकल कलेज भरतपुरका दन्तरोग विशेषज्ञ डा. प्रभास रोयले दाँत तथा बङ्गाराबाट डिएनए नमूना सङ्कलन गरिएको जानकारी दिनुभयो। दाँत नभएका शवबाट भने हड्डीका टुक्रा निकालेर फरेन्सिक टोलीलाई बुझाइएको उहाँले बताए।
ठूलो सङ्ख्यामा शव एकैपटक ल्याइएकाले व्यवस्थापन चुनौतीपूर्ण भए पनि चिकित्सक, स्वास्थ्यकर्मी र अन्य कर्मचारी परिचालन गरी काम भइरहेको अस्पतालले जनाएको छ। शवबाट सम्भावित रोग फैलिन नदिन आवश्यक स्वास्थ्य सावधानी अपनाइएको छ। शवको पहिचान तथा व्यवस्थापनमा सुरक्षा निकाय, स्वयंसेवक र विभिन्न सङ्घसंस्थाले समेत सहयोग गरिरहेका छन्।







