काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढी र त्यसपछि गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ७३५ पुगेको छ।
प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार बाढी तथा पहिरो प्रभावित विभिन्न जिल्लाबाट ७३५ जनाको शव फेला परेको हो।
प्रहरीका अनुसार सबैभन्दा धेरै शव चितवनमा २५९ जना फेला परेका छन्। त्यस्तै नवलपरासी पूर्वमा १८४, नवलपरासी पश्चिममा ८२, गोरखामा ५८, नुवाकोटमा ५२, धादिङमा ५०, तनहुँमा ३७ र रसुवामा १३ जनाको शव फेला परेको छ।
बाढी र पहिरोमा परी अझै २५ जना प्रहरी कर्मचारी सम्पर्कविहीन रहेका छन्। उद्धार तथा सुरक्षाका लागि प्रभावित क्षेत्रमा खटिएका उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
विपद्पछि उद्धार, खोजी तथा राहतका लागि देशभरबाट ठूलो संख्यामा प्रहरी जनशक्ति परिचालन गरिएको छ। पछिल्लो विवरणअनुसार ७ हजार २९३ जना प्रहरी कर्मचारी बाढी प्रभावित विभिन्न क्षेत्रमा प्रत्यक्ष रूपमा खटिएका छन्।
प्रहरीका अनुसार बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा घाइते तथा उद्धार गरिएका २ हजार ७२५ जनाको विवरण प्राप्त भएको छ। तीमध्ये काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा उपचाररत तथा डिस्चार्ज भएका घाइतेको संख्या १६० जना रहेको छ।
बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन, तनहुँ तथा नवलपरासीका विभिन्न क्षेत्रमा अझै खोज तथा उद्धार कार्य चलिरहेको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोली जोखिमपूर्ण क्षेत्रमा परिचालन गरी बेपत्ताको खोजी तथा क्षतिको विवरण संकलनमा जुटेको छ।







