हेटौँडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ आवतजावत गर्ने सवारीसाधनको चाप बढेको छ।
सवारी चाप व्यवस्थापन गर्न जिल्ला प्रशासन कार्यालय मकवानपुरले सवारीसाधनको प्रकृतिअनुसार वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ। प्रशासनले मालवाहक सवारीसाधनलाई कान्ति लोकपथ र १४ सिटभन्दा बढी क्षमताका यात्रुवाहक सवारीसाधनलाई त्रिभुवन राजपथ हुँदै सञ्चालन गर्न अनुरोध गरेको हो।
कार्यालयका प्रशासकीय अधिकृत सन्तोष सुवेदीका अनुसार १४ सिटसम्मका साना यात्रुवाहक सवारीसाधनलाई भीमफेदी–देउराली मार्ग प्रयोग गर्न भनिएको छ।
प्रशासनले अत्यावश्यक कामबाहेक काठमाडौँको यात्रा नगर्न, अत्यावश्यक अवस्थामा बाहेक निजी सवारीसाधन प्रयोग नगर्न तथा सडकमा जथाभावी ओभरटेक नगर्नसमेत आग्रह गरेको छ। साथै, सवारीसाधन चालकलाई ट्राफिक प्रहरीको निर्देशन पालना गरी सुरक्षित रूपमा यात्रा गर्न अनुरोध गरिएको छ।







