बृहत्तर पशु विकास प्रवर्द्धन कार्यक्रमबाट किसान लाभान्वित

तनहुँ– भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन गरेको वृहत्तर पशु विकास प्रवर्द्धन कार्यक्रमबाट जिल्लाका ५६५ किसान लाभान्वित भएका छन्। कार्यक्रमका लागि छुट्याइएको ३० लाख रुपैयाँमध्ये २९ लाख ३१ हजार रुपैयाँ खर्च भएको केन्द्रले जनाएको छ।

पशुपालनलाई व्यवस्थित, व्यावसायिक र उत्पादनमुखी बनाउने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रममा बङ्गुर, बाख्रा तथा दुग्ध उत्पादनमा संलग्न कृषक समूहलाई लक्षित गरी विभिन्न पूर्वाधार, सामग्री तथा उपकरण सहयोग गरिएको पशु स्वास्थ्य प्राविधिक रुद्रसिंह ठकुरीले जानकारी दिए।

कार्यक्रमअन्तर्गत एउटा बङ्गुरपालक कृषक समूहमा आबद्ध किसानका लागि बङ्गुरको खोर सुधार गरिएको छ। खोर सुधारमार्फत बङ्गुरपालनलाई व्यवस्थित बनाउनुका साथै पशुको स्वास्थ्य र उत्पादनमा वृद्धि गर्ने लक्ष्य राखिएको ठकुरीले बताए।

यस्तै, दुईवटा बाख्रापालक कृषक समूहमा आबद्ध २४ जना किसानका लागि बाख्राको खोर निर्माण तथा मर्मत गरिएको छ। थप ११ जना किसानलाई चापकटर र कम्बाइन मिल उपलब्ध गराइएको छ। घाँस तथा दाना व्यवस्थापनमा प्रयोग हुने यस्ता उपकरणले किसानको श्रम र समय बचत गर्न सहयोग पुग्ने केन्द्रको अपेक्षा छ।

बाख्राको नश्ल सुधार तथा उत्पादन क्षमता वृद्धि गर्न दुईवटा प्रजनन बोका खरिद गरी किसानलाई उपलब्ध गराइएको छ। दुईवटा फार्ममा जैविक सुरक्षा कायम गर्न आवश्यक घेराबारसमेत निर्माण गरिएको ठकुरीले जानकारी दिए। किसानको क्षमता अभिवृद्धिका लागि तालिम सञ्चालन गर्नुका साथै पशु स्वास्थ्यका लागि आवश्यक औषधि पनि वितरण गरिएको थियो।

दुग्ध उत्पादनतर्फ दुईवटा दुग्ध उत्पादक कृषक समूहमा आबद्ध किसानका लागि ६१३ वटा स्टिल क्यान खरिद गरी वितरण गरिएको छ। दूध सङ्कलन तथा भण्डारणमा प्रयोग हुने स्टिल क्यानले दूधको स्वच्छता कायम राख्नुका साथै गुणस्तर सुधारमा सहयोग पुग्ने केन्द्रले जनाएको छ।

किसानका आवश्यकता पहिचान गरी पशुपालनको उत्पादन, पशु स्वास्थ्य, पूर्वाधार विकास र व्यावसायीकरणमा सहयोग पुर्‍याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको केन्द्रको भनाइ छ। कार्यक्रममार्फत खोर सुधार, उपकरण वितरण, नश्ल सुधार, जैविक सुरक्षा, तालिम तथा पशु स्वास्थ्य सेवामा किसानलाई प्रत्यक्ष सहयोग पुगेको जनाइएको छ।