परराष्ट्रमन्त्री खनाल र मलेसियाका विदेशमन्त्रीबीच टेलिफोन वार्ता

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र मलेसियाका परराष्ट्रमन्त्री दातो सेरी उतमा हाजी मोहम्मद हाजी हसनबीच सोमबार टेलिफोन वार्ता भएको छ ।

मलेसियाका परराष्ट्रमन्त्री हसनले मन्त्री खनाललाई टेलिफोन गर्दै नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । उनले विपद्को यस घडीमा नेपाल सरकार र नेपाली जनताप्रति मलेसियाको ऐक्यबद्धता रहेको जनाउँदै आवश्यक सहयोगका लागि प्रतिबद्धता व्यक्त गरेका हुन् ।

वार्ताका क्रममा हसनले नेपालले पहिचान गरेका आवश्यकताका आधारमा थप सहयोग उपलब्ध गराउन मलेसिया तयार रहेको बताएका थिए ।

मन्त्री खनालले मलेसियाले व्यक्त गरेको दुःख, सहयोग र ऐक्यबद्धताप्रति आभार व्यक्त गर्दै विपद्पछिको खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकारले गरिरहेको प्रयासबारे जानकारी गराए । उनले बेपत्ता व्यक्तिहरूको खोजी कार्य अझै जारी रहेको समेत बताए ।

खनालले बाढीबाट प्रभावित मलेसियाली नागरिकका सम्बन्धमा प्रमाणित तथा आवश्यक सूचना समयमै उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै काठमाडौंस्थित मलेसियाली दूतावाससँग निकट समन्वय गर्ने आश्वासन दिए ।

रसुवा, नुवाकोटलगायतका क्षेत्रमा गत बुधबार आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतका काम जारी रहेका बेला दुई देशका परराष्ट्रमन्त्रीबीच टेलिफोन वार्ता भएको हो ।