नुवाकोट। नुवाकोटको सदरमुकाम विदुरसँग सम्पर्क कायम गर्ने उद्देश्यका साथ धमाधम तुइन निर्माण सुरु गरिएको छ।
त्रिशूली नदीमा आएको बाढीले पुल बगाउनुका साथै सडकमा क्षति पुर्याएपछि विदुरसहित रसुवासम्मको सडक यातायात अवरुद्ध भएको छ। त्रिशूली अस्पतालसहित जिल्लाका विभिन्न क्षेत्र र रसुवासँगको सडक यातायात यही भदौ १० गतेदेखि बन्द छ।
बाढी प्रभावित क्षेत्रको खोज तथा उद्धार, शव व्यवस्थापन र राहत वितरणमा समस्या भएकाले तत्काल आवागमन सहज बनाउन तुइन निर्माण थालिएको विदुरका नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिए।
उनका अनुसार अस्पतालका लागि औषधि तथा अन्य आवश्यक सामग्री ल्याउन विदुर–१ इन्द्रायणी चौरदेखि विदुर–१ गुम्बा जोडने तुइन निर्माण भइरहेको छ। करिब ३०० मिटर लामो उक्त तुइन निर्माण अन्तिम चरणमा पुगेकाले मङ्गलबारदेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ।
यस्तै, बाढीले देवीघाटको पक्की पुल बगाएपछि विदुरसँग बेलकोटगढी नगरपालिकाको सम्पर्क स्थापित गर्न पनि तुइन निर्माण सुरु गरिने भएको छ। उक्त स्थानमा मङ्गलबार बिहानदेखि काम सुरु गरी छिट्टै सञ्चालनमा ल्याउने लक्ष्य राखिएको पूर्वाधार विकास कार्यालय नुवाकोटका प्रमुख सुजन थापाले जानकारी दिए।
उनका अनुसार त्रिशूली नदीमा आएको बाढीले नुवाकोट र रसुवाका १८ वटा पक्की पुलमा क्षति पुर्याएको छ। केही बस्तीमा घुमाउरो बाटोबाट जान सकिने भए पनि नुवाकोटको किस्पाङ तथा रसुवाको ठुलो गाउँ, डाँडागाउँलगायत त्रिशूलीपारिका बस्तीमा सडकबाट पुग्न नसकिने भएकाले तुइन निर्माण गरी आवागमन सहज बनाइन लागिएको हो।
नेपाली सेना, स्थानीय पूर्वाधार विकास कार्यालय र विदुर नगरपालिकाको प्राविधिक सहयोगमा विदुरबाट त्रिशूली नदी पार गर्न पाँच स्थानमा तुइन निर्माण गर्ने तयारी गरिएको छ।
एक स्थानमा तुइन निर्माण गर्न करिब रु १५ लाख खर्च हुने प्रारम्भिक अनुमान गरिएको छ। यस्तै, बेलिब्रिज निर्माणका लागि नेपाली सेनाले प्राविधिक अध्ययन अघि बढाएको छ।
प्रधानमन्त्री वालेन्द्र शाह र पूर्वाधार विकासमन्त्री सुनील लम्सालले केही दिनअघि बाढी प्रभावित क्षेत्रको अवलोकन गर्नुहुँदै त्रिशूली नदी वारपारका लागि उपयुक्त स्थानमा तत्काल बेलिब्रिज निर्माणको प्रक्रिया अघि बढाउन निर्देशन दिनुभएको थिए।
त्यसपछि नेपाली सेनाको प्राविधिक टोलीले बाढीबाट क्षतिग्रस्त ढुङ्गेबगर, त्रिशूली बजार, देवीघाट र बेत्रावतीमा पुल निर्माणका लागि अध्ययन थालेको हो।







