अर्घाखाँची सिमेन्टद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु छ लाख ७५ हजार सहयोग

भैरहवा । अर्घाखाँची सिमेन्ट उद्योगमा कार्यरत कर्मचारीले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि रु ६ लाख ७५ हजार सहयोग गर्ने भएका छन् ।

कर्मचारीले स्वेच्छिक रूपमा सङ्कलन गरेको उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने उद्योगका महाप्रबन्धक उद्धव कार्कीले जानकारी दिए ।

उनका अनुसार विपद्को समयमा पीडितको राहत तथा उद्धारमा सहयोग पुगोस् भन्ने उद्देश्यले कर्मचारीले आपसी सल्लाहमा स्वतःस्फूर्त रूपमा रकम सङ्कलन गरेका हुन् ।

“समस्या परेका बेला हामीले पनि केही सहयोग गर्नुपर्छ भन्ने भावनाले कर्मचारीले आपसमा सल्लाह गरी रकम सङ्कलन गरेका हुन्,” महाप्रबन्धक कार्कीले भने ।

उनले उद्योगका कर्मचारीले पहिलोपटक यसरी ठूलो रकम स्वेच्छिक रूपमा सङ्कलन गरी विपद्बाट प्रभावित परिवारलाई सहयोग गर्न लागेको बताए ।

उद्योगका सहायक महाप्रबन्धक कृष्ण पाण्डेसहित कर्मचारीको सहभागितामा सहयोग रकम सङ्कलन गरिएको जनाइएको छ।