काठमाडौं । नागढुंगा–नौबिसे सडकखण्डअन्तर्गत नागढुंगानजिकै पातले वनमा सडक भासिएको छ ।
धादिङ सडक विभागका अनुसार सडक भासिएपछि उक्त खण्डमा सवारीसाधन एकतर्फी सञ्चालन भइरहेको छ । सडक विभागका इन्जिनियर अर्जुनप्रसाद अर्यालका अनुसार हाल पेट्रोलियम पदार्थ बोकेका गाडीलाई मात्रै उक्त सडकखण्डबाट आवागमन गर्न दिइएको छ ।
अन्य सवारीसाधनलाई भने वैकल्पिक रूपमा सुरुङमार्ग हुँदै पठाउने तयारी भइरहेको अर्यालले जानकारी दिए ।
उनका अनुसार सडकसँगैको पुरानो पर्खाल भत्किएका कारण सडक भासिएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । यद्यपि, सडक भासिनुको वास्तविक कारण प्राविधिक टोलीको अध्ययनपछि मात्रै यकिन हुने उनले बताए ।
‘सडकको वाल धेरै पुरानो थियो । वाल भत्किएपछि सडक भासिएको हुन सक्छ । तर, वास्तविक कारण प्राविधिक टोलीको अध्ययनपछि मात्रै थाहा हुन्छ,’ अर्यालले भने ।
सडक विभागको प्राविधिक टोली भासिएको स्थानमा पुगेर स्थलगत अध्ययन गरिरहेको छ ।







