प्रचण्डले सुनाए विगतका विपद्का घटना, भने- ‘विगतबाट पाठ सिक्न जरुरी छ’

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतमा नेपालमा भएका ठूला प्राकृतिक विपद्बाट पाठ सिक्दै आगामी दिनमा विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउनुपर्ने बताएका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू नयाँ रहेको उल्लेख गर्दै विगतमा देशमा घटेका गम्भीर विपद् तथा घटनाहरूको समीक्षा आवश्यक रहेको बताए।

उनले पछिल्लो समय भोटेकोशी क्षेत्रमा आएको विपद्लाई नेपालको इतिहासकै भयावह घटनामध्ये एक भएको उल्लेख गर्दै ठूलो मानवीय र भौतिक क्षति भएको बताए।

‘नेपालको इतिहासमै सायद यति भयानक प्रलय हाम्रो पुस्ताले देखेको थिएन। भोटेकोशीमा आएको त्यो प्रलयबाट हजारौँको जीवन र खर्बौँको क्षति भएको छ,’ उनले भने, ‘यहाँहरू सबै नयाँ हुनुहुन्छ। म यसअगाडि देशमा घटेका विभिन्न गम्भीर घटनाहरूको विषयमा समीक्षा गर्छु। यसबाट हामीले पाठ सिक्न जरुरी छ।’

प्रचण्डले २०७२ सालको विनाशकारी भूकम्प, त्यसपछि आएका विभिन्न भूकम्प तथा देशका विभिन्न क्षेत्रमा भएका बाढीपहिरोलगायतका प्राकृतिक विपद्को पनि स्मरण गरे।

विगतका विपद्का क्रममा प्राप्त अनुभव र सिकाइलाई आगामी दिनमा उपयोग गर्दै विपद् जोखिम न्यूनीकरण, उद्धार, राहत तथा व्यवस्थापनका कामलाई अझ प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिए।