चितवन । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सम्पर्कविहीन भएका आफन्तको खोजीमा रहेका परिवारले डीएनए परीक्षणबाट भए पनि आफ्ना प्रियजनको पहिचान हुने आशा राखेका छन्।
चितवनको भरतपुर महानगरपालिका–१० स्थित चितवन उद्योग संघको परिसरमा मंगलबारदेखि बाढीमा बेपत्ता व्यक्तिका आफन्तबाट डीएनए परीक्षणका लागि रगतको नमुना संकलन सुरु गरिएको हो।
जिल्ला प्रहरी कार्यालय चितवन, बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशाला भक्तपुरको सेवा इकाइ चितवन र जनस्वास्थ्य कार्यालय चितवनको संयुक्त आयोजनामा नमुना संकलन भइरहेको छ।
बारा कलैयाका भगवान शर्मा छोराको खोजीमा सम्भावित स्थानहरूमा भौंतारिएपछि डीएनए परीक्षणमार्फत पहिचान हुनसक्ने जानकारी पाएर चितवन आएका हुन्। नागरिकताको प्रतिलिपि र फोटोसहित पुगेका उनले रगतको नमुना दिए पनि छोरा जीवितै भेटिने आशा भने अझै नछाडेको बताए। शव फेला परेको अवस्थामा पनि डीएनए परीक्षणबाट पहिचान हुनसक्ने भएकाले नमुना दिएको उनको भनाइ छ।
त्यस्तै, बर्दियाका रामबहादुर थारू पनि गत ११ गतेदेखि बेपत्ता छोराको खोजीमा चितवनमा छन्। उनका छोरासहित १६ जना साथी बाढीमा बेपत्ता भएको उनले बताए। धेरै शव हेर्दासमेत छोराको अवस्था पत्ता नलागेपछि पहिचानका लागि डीएनए नमुना दिएको थारूले बताए।
उनले छोराले काम गर्ने कम्पनी काठमाडौंमा रहेको र कम्पनीसँग समन्वय गरी घटनास्थल पुगेर थप खोजी गर्ने तयारी भइरहेको जानकारी दिए। कम्पनीले खोजीमा सहयोग गरिरहेको भन्दै उनले घटनास्थलसम्म पुग्ने व्यवस्था मिलाइदिन आग्रहसमेत गरेका छन्।
जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख निर्मल घिमिरेका अनुसार बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका पहिचान खुल्न नसकेका शवबाट समेत डीएनए नमुना संकलन गरिएको छ। आफन्तबाट संकलित रगतको नमुना र शवबाट निकालिएको डीएनए मिलान गर्न अहिले नमुना संकलन भइरहेको उनले बताए। संकलित नमुना परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाइनेछ।
नेपाल प्रहरी विधि विज्ञान प्रयोगशालाका प्रहरी निरीक्षक सन्देशकुमार पोखरेलका अनुसार पहिचान नभएका शवबाट मुख्यतः दाँत र हड्डीको नमुना संकलन गरी डीएनए प्रोफाइल तयार गरिन्छ। त्यसपछि आफन्तको डीएनए प्रोफाइलसँग सफ्टवेयरमार्फत मिलान गरी पहिचान गरिने उनले बताए।
पोखरेलका अनुसार डीएनए परीक्षणका लागि पहिलो प्राथमिकतामा बुबा–आमा वा छोराछोरी अर्थात् पहिलो तहका आफन्तको नमुना आवश्यक पर्छ। पहिलो तहका आफन्त उपलब्ध नभए दाजुभाइ वा दिदीबहिनीको नमुनाबाट पनि पहिचान गर्न सकिनेछ।
नेपाल प्रहरीले पहिचान खुल्न नसकेका तथा बेवारिसे अवस्थामा रहेका शव आफन्तलाई बुझाउन स्वदेश तथा विदेशमा रहेका मृतकका परिवारलाई डीएनए नमुना उपलब्ध गराउन आग्रह गरेको छ।
चितवनबाहिर रहेका स्वदेशका आफन्तले आफूलाई पायक पर्ने जिल्ला प्रहरी कार्यालय वा काठमाडौं महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालको प्याथोलोजी ल्याबमा दुई प्रति पासपोर्ट साइजको फोटोसहित सम्पर्क गरी ताजा रगतको नमुना दिन सक्ने प्रहरीले जनाएको छ।
त्यस्तै, विदेशमा रहेका पहिलो तहका आफन्तले सम्बन्धित देशस्थित नेपाली दूतावास वा कूटनीतिक नियोगमार्फत डीएनए प्रोफाइल तयार गराउन सक्नेछन्। विदेशमै तयार गरिएको डीएनए प्रोफाइलको सफ्ट कपी नेपाल प्रहरीको आधिकारिक इमेलमा पठाउन सकिने व्यवस्था गरिएको प्रहरीले जनाएको छ।






