बाढीमा ज्यान गुमाएका प्रहरीका परिवारलाई १० लाख राहत

काठमाडौँ । रसुवाको भोटेकोशी–त्रिशूली बाढीमा परी ज्यान गुमाएका प्रहरी कर्मचारीका परिवारलाई नेपाल प्रहरीले विशेष राहत तथा सहयोग उपलब्ध गराउने भएको छ ।

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको अध्यक्षतामा बिहीबार बसेको नेपाल प्रहरीको नीति निर्माण समितिको बैठकले दिवंगत प्रहरीका परिवारलाई नियमावलीअनुसार प्राप्त हुने सेवासुविधाका अतिरिक्त विभिन्न राहत तथा सहयोग उपलब्ध गराउने निर्णय गरेको हो ।

निर्णयअनुसार बाढीमा परी ज्यान गुमाएका प्रत्येक प्रहरी कर्मचारीका परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराइनेछ । यस्तै, नेपाल प्रहरी कल्याण कोषबाट लिएको विशेष सापटी ऋण पूर्ण रूपमा मिनाहा गरिने भएको छ ।

त्यसैगरी, दिवंगत प्रहरी कर्मचारीका परिवारबाट इच्छुक एक जना सदस्यलाई सीपमूलक तालिम प्रदान गरी रोजगारीका लागि आवश्यक पहल गरिनेछ ।

दिवंगत प्रहरीका सन्ततिलाई नेपाल प्रहरी स्कुलमा शैक्षिक शुल्क मिनाहा गरी अध्ययनको व्यवस्था मिलाउने निर्णयसमेत बैठकले गरेको छ ।