कृष्णभिरको बाटो खोल्न रुख कटान सुरु

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभिरमा गएको पहिरो पन्छाउने काम अघि बढाइएको छ। पूर्वाधार विकास मन्त्रालयका अनुसार पहिरोको दुवैतर्फबाट १८ जना जनशक्ति परिचालन गरी रुख कटान थालिएको हो।

पहिरो हटाउन आवश्यक निर्माण उपकरणसमेत सडकको दुवै छेउमा तयारी अवस्थामा राखिएको मन्त्रालयले जनाएको छ। रुख कटानको काम सकिएलगत्तै उपकरण परिचालन गरेर पहिरो हटाउने कार्य सुरु गरिनेछ।

सडकलाई यथाशीघ्र सञ्चालनमा ल्याउने लक्ष्यसहित काम तीव्र पारिएको मन्त्रालयको भनाइ छ।

कृष्णभिरमा सडक भासिएपछि काठमाडौं उपत्यकाको आपूर्ति शृङ्खला प्रभावित भएको छ। राजधानी आवतजावत गर्ने यात्रुले समेत लामो समयदेखि सास्ती खेपिरहेका छन्। सडक अवरोधको मौका छोपेर बजारमा केही वस्तुको कृत्रिम अभाव सिर्जना गर्ने प्रयाससमेत हुन थालेको जनाइएको छ