काठमाडौं । विनाशकारी बाढीपछि नेपालको खोजी तथा उद्धार अभियानमा सहयोग पुर्याउन अस्ट्रेलियाले विशेषज्ञ ड्रोन अपरेटरसहितको १५ सदस्यीय टोली नेपाल पठाउने भएको छ ।
अस्ट्रेलियाकी विदेशमन्त्री पेङ वाङका अनुसार फायर एन्ड रेस्क्यु न्यू साउथ वेल्स तथा क्विन्सल्यान्ड फायर डिपार्टमेन्टका सदस्यसहितको ड्रोन विशेषज्ञ टोली नेपाल आउनेछ ।
टोलीले अत्याधुनिक ड्रोन प्रविधिको प्रयोग गरी प्रभावित क्षेत्रको द्रुत नक्साङ्कन तथा तस्बिर र इमेजिङ गर्नेछ । यसबाट नेपाली सुरक्षाकर्मी तथा सम्बन्धित निकायको खोजी तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अस्ट्रेलियाली सरकारले जनाएको छ ।
नेपाल सरकारले अस्ट्रेलियाले प्रस्ताव गरेको सहयोग स्वीकार गर्दै खोजी तथा उद्धारका लागि औपचारिक रूपमा सहयोग माग गरेको हो । अस्ट्रेलियाले खोजी, उद्धार र पुनःस्थापनाका लागि थप सहयोग गर्न आफू तयार रहेको जनाएको छ ।
यसअघि अस्ट्रेलियाले कन्सुलर तथा मानवीय सहायता, अस्ट्रेलियन फेडरल पुलिस र रक्षा मन्त्रालयका कर्मचारीसहित १९ जना कर्मचारी नेपाल पठाइसकेको छ ।
बाढी तथा अन्य विपद्का कारण नेपालमा रहेका ३८ जना अस्ट्रेलियाली नागरिक अझै सम्पर्कविहीन रहेको जनाइएको छ ।







