विषम परिस्थितिमा उद्योगीले बढाए ग्यासको मूल्य

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर क्षेत्रमा त्रिशूली नदीमा आएको भीषण बाढीका कारण सडक अवरुद्ध भएपछि काठमाडौं उपत्यकामा एलपी ग्यासको ढुवानी तथा वितरण प्रभावित भएको छ।

सडक अवरुद्ध भएपछि ग्यास उद्योगहरूले वैकल्पिक मार्ग प्रयोग गर्नुपर्दा ढुवानी लागत बढेको नेपाल एलपी ग्यास उद्योग संघले जनाएको छ।

गत भदौ १४ गते कृष्णभीर क्षेत्रमा आएको बाढीले पृथ्वी राजमार्गको केही भाग कटान गरेपछि काठमाडौं उपत्यका तथा आसपासका जिल्लामा एलपी ग्यासको बिक्री–वितरण चुनौतीपूर्ण बनेको संघले जनाएको हो।

समस्या समाधानका लागि सोही दिन नेपाल आयल निगम र नेपाल एलपी ग्यास उद्योग संघबीच छलफल भएको थियो। छलफलपछि काठमाडौं उपत्यकामा ग्यास आपूर्ति गर्दै आएका उद्योगलाई मकवानपुर, पर्सा, बारा, चितवन, नवलपरासी र धनुषामा रहेका उद्योगबाट सिलिन्डर रिफिल गरी वैकल्पिक मार्ग हुँदै काठमाडौं ल्याउन दिने निर्णय भएको संघले जनाएको छ।

संघका अनुसार हेटौँडास्थित सहरा ग्यास उद्योगबाट वैकल्पिक मार्ग हुँदै काठमाडौंसम्म करिब १३१ किलोमिटर दूरी तय गर्दा प्रतिसिलिन्डर थप ढुवानी खर्च ९३ रुपैयाँ २६ पैसा लाग्छ। त्यसमा नियमानुसार लाग्ने करसमेत जोड्दा थप ढुवानी खर्च १०५ रुपैयाँ ३८ पैसा कायम भएको छ।

नेपाल एलपी ग्यास उद्योग संघको ३१औँ वार्षिक साधारणसभाले काठमाडौं उपत्यकामा ग्यास बिक्री–वितरण गर्ने उद्योगहरूलाई नेपाल आयल निगमले तोकेको प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँमा थप ढुवानी खर्चबापत १०५ रुपैयाँ ३८ पैसाभन्दा बढी नलिन आग्रह गरेको छ।

यसअनुसार काठमाडौं उपत्यकामा एलपी ग्यासको प्रतिसिलिन्डर अधिकतम २ हजार १६५ रुपैयाँ ३८ पैसा मा बिक्री–वितरण गर्न संघले उद्योगहरूलाई अनुरोध गरेको छ।

संघका अध्यक्ष दिवान बहादुर चन्दले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत विषम परिस्थितिलाई ध्यानमा राख्दै संघ, ग्यास उद्योगी तथा बिक्रेतालाई नयाँ सिलिन्डरको बजारीकरण नगर्न र नगराउनसमेत आग्रह गरेका छन्।

सडक अवरोधका कारण उत्पन्न असहज परिस्थितिमा ग्यासको आपूर्ति सहज बनाउन वैकल्पिक मार्गबाट ढुवानीको व्यवस्था गरिएको भन्दै संघले उपभोक्तालाई तोकिएको मूल्यभन्दा बढी रकम नतिर्न आग्रह गरेको छ।