बीपी राजमार्गमा ग्यास बुलेट र ठूला गाडीलाई सुरक्षाकर्मीको निगरानीमा छाडिने

काभ्रे– पृथ्वी राजमार्गअन्तर्गत कृष्णभिरमा केही दिनअघि आएको बाढीका कारण सडक अवरुद्ध भएपछि बीपी राजमार्गमा सवारीसाधनको चाप अत्यधिक बढेको छ। बढ्दो चाप व्यवस्थापन गर्दै यातायातलाई सहज बनाउन जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले मालवाहक सवारीसाधनलाई रातिको समयमा मात्रै सञ्चालन गर्न दिने निर्णय गरेको छ।

जिल्ला सुरक्षा समितिको बैठकले बीपी राजमार्गको क्षमता र सडकको अवस्थालाई ध्यानमा राख्दै मालवाहक सवारीसाधनको अधिकतम तौल सीमा १० टन निर्धारण गरेको छ। प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार सडकमा जाम हुन नदिन ट्राफिक प्रहरी तथा जिल्ला प्रशासन कार्यालय सिन्धुलीसँग समन्वय गरी धुलिखेल–खुर्कोट खण्डमा मालवाहक सवारीसाधनको आवागमन समय व्यवस्थापन गरिएको हो।

त्यसैगरी ग्यास बुलेटलगायत ठूला मालवाहक सवारीसाधनलाई धुलिखेल–भकुण्डे सडकखण्डमा सुरक्षाकर्मीको प्रत्यक्ष निगरानीमा मात्रै सञ्चालन गर्न दिने व्यवस्था गरिएको छ।

डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशका अनुसार जोखिमयुक्त तथा साँघुरा घुम्तीहरूमा तत्काल सुधारका काम अघि बढाइएको छ। सडक अवरुद्ध हुन नदिन संवेदनशील स्थानमा डोजरलगायत आवश्यक उपकरण तयारी अवस्थामा राखिएको उनले बताए।