चितवन -एउटा हत्याको घटनामा डिएनए परीक्षणबाट भरतपुर महानगरपालिका-१८ का मृतक टीकाराम नेपालीको पहिचान खुलेपछि त्यस हत्यामा संलग्न आफ्नै छोराहरु रहेको पुष्टि भएको छ।
नारायणी नदी किनारमा भेटिएका हाड खोरलाई डिएनएमार्फत व्यक्ति पहिचान भए पछि हत्या भएको खुलेको हो। जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार विसं २०७९ फागुन १९ गते भरतपुर-१७, गाजीपुरस्थित नारायणी नदीको बगरमा खप्परको हड्डी, मेरूदण्डको हाड, कम्मरको हड्डी, तिघ्रा र दुवै नलीखुट्टाका हाडलगायतको कङ्काल भेटिएको थियो।
कङ्कालको वरपर केही कपडा, मोबाइल, मुख बाँधिएको, च्यातिएका बोरा, प्लास्टिकका थैलोसमेत फेला परेको प्रहरीले जनाएको छ। ती कङ्काललगायत अङ्ग भेटिएपछि प्रहरीले अनुसन्धान थालेको थियो। बाबु बेपत्ता भएको भनिएका मृतक टीकाराम नेपालीको कान्छो छोरा अनिल नेपालीको रगत नमुना लिई डिएनए परीक्षण गर्दा उक्त हड्डीहरु बाबु टीकारामको भएको पुष्टि भएको थियो।
त्यसपछि बाबुको हत्या गर्ने छोराहरुको खोजिमा प्रहरी लागेको प्रहरी नायब उपरिक्षक चन्द्रभूषण यादबले जानकारी दिए। मृतक नेपालीका जेठा छोरा अम्मरसिंह नेपाली र माइलो छोरा विष्णुबहादुर नेपालीसँगै वैदेशिक रोजगारमा छन्।
आरोपितलाई झिकाउन प्रहरीले ‘रेड कर्नर नोटिस’ जारी गरेको थियो। केही दिनअघि हत्या आरोपितमध्ये अम्मरसिंह नेपाल आएपछि उनलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको थियो।
निज पक्राउ परेसँगै उनी र माइलो भाइ मिलेर हत्या गरेको वयान दिएको उपरीक्षक यादवले जानकारी दिए। घरमा बाबुआमाबीच झगडा भएपछि भागेर नवलपरासीको गैँडाकोटमा अर्काको घरमा काम गरिरहेका बाबुलाई दुई छोराले फकाएर घर ल्याई हत्या गरेको पक्राउ परेका नेपालीले बयान दिएको उनले जानकारी दिए।
निजलाई ज्यानसम्बन्धी कसुरको मागदाबी लिई चितवन जिल्ला अदालतमा पेस गरिएको छ। पक्राउ परेका जेठो छोरा अम्मरलाई भदौ १६ गते पुर्पक्षका लागि थुनामा पठाइएको छ भने भाई विष्णु वैदेशिक रोजगारीमा छन्।







