काठमाडौं । नेपालका दाना उद्योगहरूले करिब ३ करोड १८ लाख रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरेका छन्। करिब २७ वटा दाना उद्योगले विभिन्न मितिमा आ–आफ्नो तर्फबाट सहयोग रकम नेपाल सरकारको उक्त कोषमा जम्मा गरेका हुन्।
उद्योगहरूमध्ये सबैभन्दा बढी पोषक दानाले १ करोड ५० लाख रुपैयाँ कोषमा जम्मा गरेको छ। पोषक दाना उत्पादन गर्ने रुंगटा ग्रुपले १ करोड ५० लाख रुपैयाँसहित कुल २ करोड रुपैयाँ सहयोग गरेको छ।
पोषक दानापछि सबैभन्दा बढी सहयोग गर्नेमा भ्याली कोल्ड स्टोर सञ्चालन गर्ने भ्याली फिड रहेको छ। भ्याली फिडले २२ लाख २२ हजार २२२ रुपैयाँ सहयोग गरेको छ।
त्यसपछि बुटवलस्थित बुस्टर फिडले १५ लाख १० हजार ५५५ रुपैयाँ सहयोग गरेको छ। त्यस्तै, विजय दाना उत्पादन गर्ने नेपाल वेलहोप एग्रिटेकले १५ लाख रुपैयाँ कोषमा जम्मा गरेको छ।
नेपाल दाना उद्योग संघका अध्यक्ष उमेशचन्द्र सापकोटाको ग्लोबल एग्रो ग्रुपले तीनवटा कम्पनीको तर्फबाट १२ लाख २२ हजार २२१ रुपैयाँ सहयोग गरेको छ।
नेपाल दाना उद्योग संघका पदाधिकारीहरूले बिहीबार अर्थमन्त्री स्वर्णिम वाग्लेलाई भेटेर उद्योगहरूले कोषमा जम्मा गरेको सहयोग रकमको विवरण बुझाएका थिए। सो अवसरमा उद्योगहरूबाट एकमुष्ट रूपमा जम्मा भएको रकम बराबरको डमी चेक तयार गरी अर्थमन्त्री वाग्लेलाई हस्तान्तरणसमेत गरिएको थियो।
दैवीप्रकोपबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि दाना उद्योगहरूले गरेको उक्त सहयोगले विपद्का समयमा निजी क्षेत्रको सामाजिक उत्तरदायित्वलाई समेत प्रतिबिम्बित गरेको छ।








