बाजुरा – गएरातिदेखि परेको अविरल वर्षापछि आएको पहिरोका कारण कर्णाली करिडोर सडकखण्ड अवरुद्ध भएको छ। बाजुराको जगन्नाथ गाउँपालिका–५ स्थित भुकाह खोलामा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो।
जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी एवं प्रहरी निरीक्षक गगनसिंह भाटका अनुसार हिमाली गाउँपालिका–७ बाधु र जगन्नाथ गाउँपालिका–५ मा माथिबाट खसेको पहिरोले सडक अवरुद्ध भएको थियो। बाधुमा खसेको पहिरो पिएस कन्स्ट्रक्सनको जेसिबी प्रयोग गरी हटाएर सडक सञ्चालनमा ल्याइए पनि जगन्नाथको भुकाह खोलामा पुनः पहिरो खसेपछि आवागमन रोकिएको हो।
सडक खुलाउन प्रहरीचौकी जुड्डीबाट प्रहरी सहायक निरीक्षक रमेश रावलको कमाण्डमा तीन जनाको प्रहरी टोली घटनास्थलमा खटिएको छ। सडक अवरुद्ध भएपछि गन्तव्यतर्फ जाने सवारीसाधन बाटोमै रोकिएका छन्।
हाल जगन्नाथ गाउँपालिकाको जेसिबी प्रयोग गरी पहिरो हटाएर सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्रहरी निरीक्षक भाटले जानकारी दिए।
लगातारको वर्षाका कारण कर्णाली करिडोरका विभिन्न स्थानमा पहिरोको जोखिम बढेकाले प्रहरीले यात्रु तथा सवारी चालकलाई सतर्कता अपनाउन आग्रह गरेको छ।







