काठमाडौं । २१६ मेगावाटको अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङमा फसेकाहरूको खोज तथा उद्धार कार्य तीव्र पारिएको छ। प्रमुख सेनानी सन्तोष थापा र उपसेनानी विनोदजंग पाण्डेको नेतृत्वमा कोरियन टोलीसहित परिचालित उद्धार टोलीले Access Point No. 2 बाट एक चिनियाँ नागरिकलाई सकुशल उद्धार गरेको छ।
उद्धार गरिएका चिनियाँ नागरिकले दिएको जानकारीका आधारमा सुरुङभित्र अझै केही व्यक्ति जीवित रहेको हुनसक्ने आशंका गरिएको छ। त्यसपछि उद्धार टोलीले सुरुङभित्र सम्भावित जीवित व्यक्तिको खोजीलाई प्राथमिकता दिँदै अभियान थप तीव्र बनाएको छ।
उद्धारमा संलग्न टोलीले सुरुङभित्र दुई जनाको शव क्यामेरामार्फत देखिएको जनाएको छ। प्रतिकूल मौसमका कारण शव बाहिर निकाल्न कठिनाइ भइरहेको प्रमुख सेनानी सन्तोष थापाले बताएका छन्।
उनका अनुसार मौसम र घटनास्थलको अवस्थालाई ध्यानमा राख्दै शव निकाल्ने प्रयास भइरहेको छ। उद्धार टोलीले भने सुरुङभित्र अझै जीवित व्यक्ति रहेको सम्भावनालाई प्राथमिकतामा राखेर खोज तथा उद्धार कार्य निरन्तर अघि बढाइरहेको जनाएको छ।







