नुवाकोट । वाईसिएल नेपालले बाढी प्रभावित नुवाकोटको विदुर नगरपालिका–तुप्चेमा रहेका दुई वटा होल्डिङ सेन्टरमा अत्यावश्यक राहत सामग्री हस्तान्तरण गरेको छ।
भदौ १९ गते वाईसिएल नेपालले बाढी प्रभावित क्षेत्रमा चौथोपटक राहत सामग्री पुर्याउँदै दुवै होल्डिङ सेन्टरमा सिरक, डसना, म्याट्रेस, औषधि तथा बालबालिकाका लागि कापी–कलमलगायतका सामग्री हस्तान्तरण गरेको हो। प्रभावित परिवारको तत्कालीन आवश्यकतालाई ध्यानमा राखी अन्य अत्यावश्यक राहत सामग्रीसमेत उपलब्ध गराइएको वाईसिएल नेपालले जनाएको छ।
राहत सामग्री हस्तान्तरण कार्यक्रममा वाईसिएल नेपालका केन्द्रीय अध्यक्ष पुष्प ओली, पूर्वसांसद राजन दाहाललगायतको उपस्थिति थियो।
वाईसिएल नेपालका केन्द्रीय सचिव तथा प्रचार–प्रसार उपप्रमुख धिरज उपरकोटीका अनुसार बाढी प्रभावित क्षेत्रमा गरिएको यो संस्थाको चौथो चरणको राहत हस्तान्तरण हो।
भौगोलिक रूपमा कठिन रहेको उक्त क्षेत्रमा बाढीका कारण मुख्य सडक तथा बाटोहरू बगाएपछि राहत टोलीले धादिङ हुँदै सामरी क्षेत्रबाट घण्टौँको कठिन यात्रा गरेर राहत सामग्री होल्डिङ सेन्टरसम्म पुर्याएको थियो।
वाईसिएल नेपालले बाढी तथा डुबानबाट प्रभावित नागरिकलाई तत्काल आवश्यक सामग्री उपलब्ध गराउनुका साथै प्रभावित क्षेत्रमा स्वयंसेवक परिचालन, उद्धार तथा श्रमदानका कामलाई समेत निरन्तरता दिइरहेको जनाएको छ।
विपद्का समयमा प्रभावित नागरिकको साथमा रहेर राहत, उद्धार, सरसफाइ तथा पुनःस्थापनाका कार्यमा निरन्तर सक्रिय रहने प्रतिबद्धता पनि वाईसिएल नेपालले जनाएको छ।






