काठमाडौँ । संयुक्त राज्य अमेरिकाले नेपालका लागि आफ्नो ‘ट्राभल एडभाइजरी’मा सुधार गर्दै पर्यटक तथा आफ्ना नागरिकलाई नेपाल भ्रमणका क्रममा बढी सतर्कता अपनाउन आग्रह गरेको छ । अमेरिकी विदेश मन्त्रालयले सेप्टेम्बर ४, २०२६ मा जारी गरेको नयाँ यात्रा सुझावमा नेपाललाई ‘दोस्रो स्तरको बढी सतर्कता अपनाउनुहोस्’ श्रेणीमा राखिएको छ भने रसुवा जिल्लाको केही क्षेत्रलाई भने ‘चौथो स्तरको यात्रा नगर्नुहोस्’ श्रेणीमा राखिएको छ ।अमेरिकी विदेश मन्त्रालयले विशेषगरी रसुवागढी–टिमुरे–स्याफ्रुबेँसी क्षेत्र तथा नेपाल–चीन सीमा नाकामा कुनै पनि कारणले यात्रा नगर्न आग्रह गरेको छ । ठूलो बाढी र पहिरोबाट उक्त क्षेत्रमा व्यापक क्षति पुगेको, यातायात तथा सञ्चार सेवा प्रभावित भएको र अझै खोज, उद्धार तथा पुनःस्थापना कार्य जारी रहेकाले जोखिम उच्च रहेको अमेरिकाको भनाइ छ ।
यात्रा सुझावमा उक्त क्षेत्रमा थप बाढी र पहिरोको सम्भावनासमेत रहेको उल्लेख गरिएको छ । प्रभावित क्षेत्रअन्तर्गत भोटेकोशी, त्रिशूली र नारायणी नदी आसपासका बस्तीहरू पनि समेटिएका छन् । अमेरिकी विदेश मन्त्रालयले नदी किनार, होचा भूभाग, क्षतिग्रस्त पुल तथा अस्थिर भिरालो क्षेत्रबाट टाढा रहन यात्रुलाई आग्रह गरेको छ ।त्यस्तै, नेपाली अधिकारीले जारी गरेका उद्धार, विस्थापन तथा सुरक्षा निर्देशनको पालना गर्न पनि सुझाव दिइएको छ । हराइरहेका आफन्त वा व्यक्तिको खोजी गर्न भन्दै सर्वसाधारण वा विदेशी नागरिकले आफैं विपद् प्रभावित क्षेत्रमा प्रवेश नगर्न अमेरिकी विदेश मन्त्रालयले स्पष्ट चेतावनी दिएको छ ।अमेरिकी यात्रा सुझावमा नेपाल नियमित रूपमा भूकम्प, बाढी र पहिरोको जोखिममा रहने मुलुकका रूपमा उल्लेख गरिएको छ । भूकम्प अचानक र पूर्वसूचनाबिनै आउन सक्ने तथा काठमाडौँ उपत्यका पनि त्यसबाट प्रभावित हुन सक्ने चेतावनी दिइएको छ ।
विशेषगरी जुनदेखि सेप्टेम्बरसम्मको मनसुन अवधिमा भारी वर्षाका कारण अचानक आउने बाढी र पहिरोले सडक अवरुद्ध गर्ने, भवन तथा पूर्वाधारमा क्षति पुर्याउने र आपत्कालीन अवस्थामा उद्धार तथा सहायता प्राप्त गर्न कठिन बनाउने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।त्यसैगरि, यात्रा सुझावमा नेपालका स्वास्थ्य तथा आकस्मिक उपचार सेवाको क्षमतासमेत सीमित रहेको उल्लेख गरिएको छ । काठमाडौंका अस्पताल अन्य क्षेत्रको तुलनामा तुलनात्मक रूपमा राम्रो भए पनि त्यहाँ भीडभाड हुने, आवश्यक उपकरण तथा औषधिको अभाव हुन सक्ने र उपचारअघि नै शुल्क मागिने अवस्था हुन सक्ने जनाइएको छ ।विदेशी नागरिकको उपचार खर्च नेपाल सरकारले व्यहोर्दैन भन्दै अमेरिकी नागरिकलाई आफूलाई आवश्यक औषधि साथमै लैजान तथा यात्रा स्वास्थ्य बीमा गर्न सुझाव दिइएको छ ।नेपाल भ्रमण गर्ने निर्णय गरेका आफ्ना नागरिकलाई अमेरिकी सरकारले स्थानीय सञ्चारमाध्यममार्फत तत्कालीन सूचना तथा विपद्सम्बन्धी समाचार नियमित रूपमा हेर्न र आवश्यक परे यात्रा योजना परिवर्तन गर्न आग्रह गरेको छ ।







