मनसुन नेपाल नजिक, नदीको बहाव बढ्ने संकेत

काठमाडौं । मनसुनको न्यूनचापीय रेखा नेपाल नजिकै रहेकाले देशभर वर्षाको सम्भाजना बढेको छ। आज आइतबार भोटेकोशी र त्रिशूलीसहित विभिन्न नदी तथा खोलामा बहाव उल्लेख्य बढ्ने र बाढीको जोखिम निम्तिन सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार रसुवा र नुवाकोट भएर बहने भोटेकोशी, त्रिशूली तथा आसपासका स–साना नदीमा आकस्मिक बाढीको उच्च सम्भावना रहेकाले विशेष सतर्कता अपनाउनु पर्ने अवस्था छ। त्यस्तै काठमाडौंसहित ३८ जिल्लाका स–साना नदीमा बहाव बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ भने मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ अर्थात् नेपालतिर नजिक रहेको छ। यसका कारण कोशी, बागमती र गण्डकीसहित विभिन्न प्रदेशमा मेघगर्जन र चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना छ।

आज दिउँसो काठमाडौं उपत्यकामा पनि बादल बढ्दै मध्यम वर्षा हुने सम्भावना रहेको मौसमविद् हरिप्रसाद दाहालले बताएका छन्। उनका अनुसार दिउँसो १२–१ बजेपछि वर्षाको सम्भावना बढ्ने देखिएको छ।

वर्षासँगै नदी तथा खोलाको जलस्तर बढ्न सक्ने भएकाले नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्नेहरूलाई सतर्क रहन मौसम तथा बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।