सीमावर्ती विपद् जोखिम घटाउन त्रिदेशीय संयुक्त संयन्त्र बनाउन नेकपाको माग

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सीमावर्ती क्षेत्रमा बढ्दो प्राकृतिक विपद्को जोखिम न्यूनीकरणका लागि नेपाल, चीन र भारतको सहभागितामा ‘संयुक्त हिमालय विपद् निगरानी तथा अनुसन्धान संयन्त्र’ तत्काल स्थापना गर्न सरकारसँग माग गरेको छ।

पार्टी केन्द्रीय कार्य संयोजन समितिको बैठकले विपद्सम्बन्धी विशेष प्रस्ताव पारित गर्दै यस्तो संयन्त्र आवश्यक रहेको निष्कर्ष निकालेको हो।

नेकपाका अनुसार हिमनदी तथा हिमताल, भूकम्पीय गतिविधि, मौसम, नदीको बहाव र जलवायु परिवर्तनका कारण भू–आकृतिमा हुने परिवर्तनसम्बन्धी तथ्याङ्क रियल टाइममा आदानप्रदान गर्न सकिने व्यवस्था मिलाउनुपर्नेछ।

प्रस्तावमा नेपाल–चीन र नेपाल–भारतबीच त्रिदेशीय स्थायी संयन्त्र निर्माण गरी त्यसको नियमित बैठक सञ्चालन गर्नुपर्ने उल्लेख छ। साथै, संयुक्त वैज्ञानिक टोली गठन गरी नियमित रूपमा क्षेत्रीय अध्ययन, अनुगमन तथा जोखिम मूल्याङ्कन गर्न पनि सरकारलाई आग्रह गरिएको छ।

सीमापारबाट उत्पन्न हुने विपद्का कारण हुने जनधनको क्षति न्यूनीकरण गर्न द्विदेशीय तथा त्रिदेशीय पूर्वसूचना प्रणाली (अर्ली वार्निङ सिस्टम) स्थापना गर्नुका साथै पूर्वतयारी र उद्धारसम्बन्धी काम तत्काल अघि बढाउनुपर्ने नेकपाको प्रस्तावमा उल्लेख छ।