सम्पर्कविहीनको खोजी अन्तिमसम्म जारी राख्छौँ : प्रधानमन्त्री शाह

काठमाडौँ । भदौ १० गते लाङटाङ हिमाल क्षेत्रमा गएको हिमपहिरोपछि भोटेकोसी नदीमा आएको लेदोसहितको आकस्मिक बाढीबाट प्रभावित रसुवा र नुवाकोटका जलविद्युत् आयोजना क्षेत्रमा सम्पर्कविहीन व्यक्तिको खोज तथा उद्धार कार्य अझै जारी छ।

प्रधानमन्त्री बालेन साह सोमबार सामाजिक संजालमार्फत स्रोत, साधन र समयको सीमितताका बाबजुद सम्पर्कविहीनहरूको खोज तथा उद्धार कार्य अन्तिम अवस्थासम्म जारी राख्ने बताएका हुन्। बाढीबाट जलविद्युत् आयोजनाका संरचना तथा उपकरणमा ठूलो क्षति हुनुका साथै आयोजना क्षेत्रमा कार्यरत केही व्यक्ति सम्पर्कविहीन भएका छन्।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोली जोखिमपूर्ण अवस्थामा समेत प्रभावित आयोजना क्षेत्रमा निरन्तर परिचालित छ। खोज तथा उद्धारमा भारत, चीन र दक्षिण कोरियालगायत मित्रराष्ट्रका विशेषज्ञ टोलीले समेत सहयोग गरिरहेका छन्।

रसुवागढी जलविद्युत् आयोजनामा बाढीले हेडवक्र्स, पावरहाउस तथा भूमिगत संरचनामा ठूलो क्षति पुर्याएको छ। उद्धार गरिएका एक कर्मचारीको सहयोगमा नेपाली सेनाको टोली सुरुङभित्र २७५ मिटरसम्म पुगे पनि हालसम्म कोही फेला परेको छैन। अहिले हेलिकप्टरमार्फत मिनी एस्काभेटर पुर्याएर खोजी भइरहेको छ।

लाङटाङ जलविद्युत् आयोजनाको सुरुङभित्र दलदल र चट्टान हटाउँदै खोजी गर्दा दुई शव फेला परेका छन्। नेपाली सेना र भारतीय विशेषज्ञ टोलीले संयुक्त रूपमा खोजी अघि बढाएका थिए।

चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा करिब ९० मिटरसम्म प्रवेश गरी खोजी गर्दा दुई शव फेला परेका छन्। खोजीका लागि एस्काभेटरलगायत उपकरण प्रयोग भइरहेका छन्।

माथिल्लो त्रिशूली–१ आयोजनामा सुरुङभित्र करिब २०० मिटरसम्म प्रवेश गरी थर्मल ड्रोनमार्फत खोजी गरिएको थियो। यस क्रममा एक शव फेला परेको थियो भने भदौ २० गते थप एक जनाको उद्धार गर्नुका साथै दुई शव फेला पारिएको जनाइएको छ।

त्रिशूली–३ ‘ए’ आयोजनामा सुरुङको मुख पत्ता लगाउन छ वटा एस्काभेटर प्रयोग गरिएको थियो। करिब २५ मिटर उत्खननपछि सुरुङ फेला पारिएको थियो। भदौ १९ गते दुई जनाको उद्धार र एक शव फेला परेको थियो। अहिले थर्मल इमेजिङ तथा इन्फ्रारेड क्यामेराबाट थप खोजी भइरहेको छ।

त्रिशूली–३ ‘बी’ आयोजनामा नेपाली सेना र आयोजनाका कर्मचारीले सुरुङभित्र करिब १.७ किलोमिटरसम्म प्रवेश गरी खोजी गरिरहेका छन्। सो क्रममा एउटा गाडी फेला परेको छ। बाढीले पुरिएका आयोजनाका छवटा आवासीय र एउटा कार्यालय भवनको समेत उत्खनन भइरहेको छ।

सरकारले प्रभावित आयोजना क्षेत्रमा सम्पर्कविहीन व्यक्तिको खोजीलाई उच्च प्राथमिकतामा राखेको जनाएको छ। जलविद्युत् आयोजनाका सुरुङ तथा दलदलयुक्त क्षेत्रमा अत्यन्त जोखिमपूर्ण अवस्थामा समेत उद्धार टोली परिचालित रहेको छ।