‘सुशासनका लागि जनता फेरि सडकमा आउन नपर्ने वातावरण बनाऔँ’– पूर्वप्रधानमन्त्री कार्की

काठमाडौँ । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन, जवाफदेहिता र परिवर्तनका लागि नागरिक फेरि सडकमा उत्रिनुपर्ने अवस्था आउन नदिन सबै पक्षले आ–आफ्नो स्थानबाट इमानदारीपूर्वक जिम्मेवारी निर्वाह गर्नुपर्ने बताएकी छन्।

गत वर्ष भदौ २३ गते भएको ‘जेनजेड आन्दोलन’को एक वर्ष पूरा भएको अवसरमा सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै कार्कीले नागरिकको अपेक्षा सम्बोधन गर्न राज्य र राजनीतिक नेतृत्व गम्भीर हुनुपर्ने उल्लेख गरेकी हुन्।

उनले सुशासन, पारदर्शिता, जवाफदेहिता र उज्ज्वल भविष्यको माग गर्दै नवयुवाहरूले गरेको आन्दोलनका क्रममा निर्दोष युवाहरूले ज्यान गुमाउनुपरेको तथा धेरै घाइते भएको स्मरण गरेकी छन्। कार्कीले आन्दोलनमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली पनि व्यक्त गरेकी छन्।

देशको इतिहासमा जनधन तथा राष्ट्रिय सम्पदामा ठूलो क्षति पुगेको उक्त पीडादायी घटना भविष्यमा कहिल्यै दोहोरिन नहुने उनको भनाइ छ।

नागरिकले आफ्ना अधिकार र सुशासनका लागि फेरि सडकमा आउनुपर्ने परिस्थिति सिर्जना हुन नदिन सबैले इमानदार, जिम्मेवार र सचेत भएर आफ्नो कर्तव्य पूरा गर्नुपर्नेमा कार्कीले जोड दिएकी छन्। उनले राज्य र राजनीतिक नेतृत्वलाई जनताका अपेक्षा र माग सम्बोधन गर्न गम्भीरतापूर्वक अघि बढ्नसमेत आग्रह गरेकी छन्।