प्रदेश प्रहरीका लागि दरखास्त माग्ने तयारी

कात्तिक ३, जनकपुर ।
प्रदेश नं. २ सरकारले प्रदेश प्रहरी भर्नाको तयारी थालेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले छठलगत्तै प्रहरी भर्नासम्बन्धी विज्ञापन सार्वजनिक गर्ने बताए ।

‘यसका निम्ति आइतबारको मन्त्रिपरिषद् बैठकले प्रदेश लोकसेवा आयोगलाई सैद्धान्तिक सहमति दिइसकेको छ,’ उनले भने, ‘अब सबै प्रक्रिया पूरा भइसकेकाले सिधैं भर्ना गर्नेतर्फ जान्छौं ।’

प्रदेशले पहिलो चरणमा सात सयदेखि एक हजार प्रहरी भर्ना गर्ने तयारी गरेको छ । ‘प्रदेशमा शान्ति सुरक्षा बहाली गर्न प्रहरीको संख्या कम छ,’ मन्त्री यादवले भने, ‘तत्काल २ हजारभन्दा बढी संख्यामा कमी छ । त्यसलाई पूर्ति नगरिए शान्ति सुरक्षामा कठिनाइ हुनेछ ।’

मन्त्री यादवका अनुसार ९ हजार ६ सय ५४ जना प्रहरीको दरबन्दी रहेकोमा प्रदेशमा हाल ७ हजार ३ सय ३५ जना मात्रै कार्यरत छन् । रिक्त दरबन्दीमा पदको पूर्ति गर्नका निम्ति भर्ना आह्वान गरिन लागिएको उनको भनाइ छ ।

प्रहरी जवानदेखि, हवल्दार, असई र प्रहरी निरीक्षक पदसम्म भर्ना गरिने मन्त्री यादवले जानकारी दिए ।

प्रदेश २ मा प्रहरी ऐन पारित भएको २ बर्ष बितिसकेको छ । २७ असोज २०७५ मा नै प्रदेश सभाबाट यो ऐन पारित भएसँगै प्रहरी गठनको बाटो खुलेको थियो । तर संघीय सरकारले प्रहरी समायोजनसम्बन्धी ऐन निर्माण नगर्दा लामो समयसम्म प्रदेशमा प्रहरी भर्ना हुन सकेन ।

संघीय सरकारले निर्माण गरेको प्रहरी समन्वय ऐन राष्ट्रपतिबाट २८ माघ २०७६ मा नै प्रमाणीकरण भई कार्यान्वयनमा आइसक्दा समेत प्रहरी भर्नाको बाटो नखोलेको भन्दै ९ असोजमा प्रदेश सरकारले गृहमन्त्री रामबादुर थापा ‘बादल’ लाई पत्राचार समेत गरिसकेको छ ।