अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह

 कास्की – कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रोङ खोलामा एक्कासी पानीको बहाव रोकिएपछि गाउँपालिकाले नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन अपिल गरेको छ ।

आज साँझ करिब ६ः३० बजेदेखि खोलाको बहाव अवरुद्ध भएको सूचना स्थानीयबाट प्राप्त भएको गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले जानकारी दिनुभयो । खोला पहिरोका कारण वा अन्य कुनै कारणले कहाँनेर थुनिएको हो भन्नेबारे यकिन हुन नसकेको उहाँले बताए ।

अध्यक्ष केसीका अनुसार खोलाको बहाव करिब दुई घण्टादेखि रोकिएको जानकारी पाएपछि आफू स्थलगत अवस्था बुझ्न वीरेठाँटीतर्फ जाँदै हुनुहुन्छ । उहाँले किम्रोङखोला र मोदीखोला आसपासका तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गर्नुभएको छ ।

किम्रोङखोला मोदी नदीमा मिसिने भएकाले कास्की र पर्वतका नदी तटीय क्षेत्रअन्तर्गत वीरेठाँटी, नयाँपुललगायत स्थानमा समेत उच्च सतर्कता अपनाउन गाउँपालिकाले आग्रह गरेको हो ।

किम्रोङ खोलामा गत असार २८ गते पनि एक्कासी बाढी आएको थियो । उक्त बाढीले पुल बगाउनुका साथै स्थानीय होटलमा समेत क्षति पुर्‍याएको थियो।

suchana2344-1458x1536-1788882409.jpg​ ​