काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणअन्तर्गतको मनसुन प्रतिकार्य कमान्ड पोस्टले रसुवा–भोटेकोशी बाढी प्रभावित क्षेत्रमा भइरहेका अध्ययन तथा अनुसन्धानलाई व्यवस्थित र एकरूप बनाउन विशेष टोली गठन गर्ने निर्णय गरेको छ ।
कमान्ड पोस्टको आज बसेको १६औँ बैठकले प्राधिकरणका सहसचिव (प्राविधिक) को संयोजकत्वमा ‘रिसोर्स एन्ड निड म्यापिङ टिम’ गठन गर्ने निर्णय गरेको हो ।
प्राधिकरणका अनुसार टोलीमा सम्बन्धित मन्त्रालय तथा विभागका प्रतिनिधिहरूलाई समेत समेटिनेछ । बाढी प्रभावित क्षेत्रमा भइरहेका विभिन्न अध्ययन तथा अनुसन्धानलाई समन्वयात्मक, प्रभावकारी र व्यवस्थित बनाउँदै निष्कर्षमा एकरूपता कायम गर्ने उद्देश्यले टोली गठन गरिएको हो ।
टोलीको कार्यविवरण निर्धारण गर्ने तथा थप सदस्यहरू छनोट गर्ने जिम्मेवारी भने संयोजकलाई दिइएको प्राधिकरणले जनाएको छ ।





