सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते

सङ्खुवासभा । सङ्खुवासभाको पाँचखपन नगरपालिका–८ पोख्राङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।

गएराति हावाहुरी र वर्षासँगै परेको चट्याङ लागेर अलैँची भट्टीमा अलैँची केलाउँदै गरेका पाँचखपन–८ पोख्राङका २८ वर्षीय उमेश दाहालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजवंशीले जानकारी दिनुभयो।

चट्याङ लागेर गम्भीर घाइते भएका दाहाललाई उपचारका लागि पाँचखपन आधारभूत अस्पताल, वाना लगिएको थियो। अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

चट्याङ लागेर सोही ठाउँका ६४ वर्षीय पुष्पलाल कट्वाल र ६२ वर्षीय छत्रबहादुर दाहाल पनि गम्भीर घाइते भएका छन्। उनीहरूको पाँचखपन आधारभूत अस्पताल, वानामा उपचार भइरहेको प्रहरीले जनाएको छ।

घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो। घटनास्थल प्रहरी चौकी भर्तिवाल डाँडाबाट करिब चार किलोमिटर पूर्वमा रहेको प्रहरीले जनाएको छ।