काठमाडौं । प्राचीन कपिलवस्तुको राजधानी तिलौराकोटको पुरातात्विक सम्पदा संरक्षणका लागि किल्ला आसपासका थप जग्गा अधिग्रहण गरिने भएको छ । तिलौराकोटलाई विश्वसम्पदा सूचीमा समावेश गराउने तयारीअन्तर्गत पुरातत्व विभागले जग्गा अधिग्रहण प्रक्रिया अघि बढाएको हो ।
किल्ला परिसर बाहिर गरिएको पुरातात्विक उत्खनन तथा भू–भौतिक सर्वेक्षणका क्रममा प्राचीन संरचनाका भग्नावशेष र अन्य महत्वपूर्ण पुरातात्विक अवशेष फेला परेका छन् । ती संरचनाको अध्ययन, अनुसन्धान तथा संरक्षणका लागि सम्बन्धित क्षेत्रका जग्गा आवश्यक भएकाले अधिग्रहण गर्न लागिएको विभागले जनाएको छ ।
विभागका प्रमुख पुरातत्व अधिकृत सन्दीप खनालका अनुसार साविक मालपारा–१ ‘ख’ र मालपारा–४ ‘क’ अन्तर्गतका विभिन्न कित्ता नम्बरका जग्गा अधिग्रहण गरिनेछ । पुरातात्विक महत्वका संरचना तथा वस्तु फेला परेका क्षेत्रलाई संरक्षणको दायरामा ल्याउन जग्गा प्राप्तिको प्रक्रिया अघि बढाइएको उनले बताए ।
जग्गा प्राप्ति ऐन, २०३४ बमोजिम विभागले सम्बन्धित जग्गाधनी, भू–स्वामी तथा अन्य सरोकारवालालाई सूचना जारी गर्दै अधिग्रहण प्रक्रियामा सहयोग गर्न आग्रह गरेको छ ।
भगवान् गौतम बुद्धले राजकुमार सिद्धार्थका रूपमा जीवनको २९ वर्ष बिताएको स्थलका रूपमा तिलौराकोटलाई लिने गरिन्छ । किल्ला परिसर बाहिरसमेत प्राचीन संरचनाका प्रमाण फेला परेपछि संरक्षणको दायरा विस्तार गर्न लागिएको हो ।
अधिकृत खनालका अनुसार थप जग्गा अधिग्रहणपछि पुरातात्विक संरचनाको विस्तृत अध्ययन तथा अनुसन्धान गर्न, अवशेषको संरक्षण गर्न र सम्पदा क्षेत्रको व्यवस्थित व्यवस्थापन गर्न सहज हुनेछ ।
तिलौराकोटलाई विश्वसम्पदा सूचीमा समावेश गराउने प्रयासअन्तर्गत पुरातात्विक महत्वका क्षेत्रको संरक्षण, अनुसन्धान र व्यवस्थापनलाई विभागले प्राथमिकतामा राखेको छ ।






