विपक्षी दलको बैठकमा विशेष समिति गठनदेखि प्रधानमन्त्रीको भ्रमणसम्मका विषयमा छलफल

काठमाडौं । भोटेकोशी बाढीपछि उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सरकारले गरिरहेको कामकारबाहीबारे विपक्षी दलहरूले समीक्षा गरेका छन्।

सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा आज बसेको विपक्षी दलहरूको बैठकमा सरकारले बाढी प्रभावित क्षेत्रमा गरिरहेको उद्धार, राहत र खोजी कार्यका साथै पुनर्स्थापनाका विषयमा छलफल भएको कांग्रेसकी प्रमुख सचेतक वासना थापाले जानकारी दिइन्।

उनका अनुसार यसअघि बसेको सर्वदलीय बैठकले तय गरेका बुँदाहरू कति कार्यान्वयन भए र कति बाँकी छन् भन्ने विषयमा समेत समीक्षा गरिएको थियो।

‘सरकारले गरेको कामबारे समीक्षा भयो। सर्वदलीय बैठकमा हामीले केही बुँदा तय गरेका थियौँ। तीमध्ये कति कार्यान्वयन भए र कति हुन बाँकी छन् भन्ने विषयमा पनि छलफल भयो,’ थापाले भनिन्।

बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बुधबार प्रतिनिधि सभामा प्रस्ताव गरेको विशेष संसदीय समिति गठनको विषयमा समेत छलफल भएको उनले बताइन्। त्यस्तै, प्रधानमन्त्रीको अमेरिका भ्रमणका विषयमा पनि बैठकमा चर्चा भएको थियो।

थापाले सरकारसँगै प्रदेश र स्थानीय तहले पनि विपद् प्रभावित क्षेत्रमा काम गरिरहेको बताइन्। यद्यपि, सबै काम एकैपटक गर्न नसकिए पनि सरोकारवालासँग पर्याप्त समन्वय र परामर्श गरेर अघि बढ्न सके अझ प्रभावकारी काम गर्न सकिने विपक्षी दलहरूको निष्कर्ष रहेको उनको भनाइ छ।

‘सरकारले मात्रै नभएर प्रदेश र स्थानीय सरकारले पनि काम गरिरहेका छन्। सबै कुरा गर्न सकिँदैन। तर हामीले चाहेको भए अझ धेरै गर्न सक्थ्यौँ। सबैसँग सरसल्लाह लिएर अगाडि बढ्न सक्थ्यौँ भन्ने विषयमा पनि छलफल भयो,’ उनले भनिन्।

बैठकमा सहभागी नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्मा अर्यालले पनि सरकारको उद्धार, राहत तथा खोजी कार्यबारे समीक्षा गरिएको बताइन्।

उनले विपद् व्यवस्थापनका क्रममा केही कमीकमजोरी देखिएको स्वीकार गर्दै सुरुदेखि नै प्रभावकारी समन्वय र परामर्श हुन सके थप नागरिकको ज्यान जोगाउन सकिने अवस्था रहेको बताइन्।

‘काम गर्ने क्रममा केही कमीकमजोरी रहे। सुरुमै अलिकति राम्रो सल्लाह गरेर जान पाएको भए ती कमीकमजोरी रहने थिएनन् होला। अझ धेरै नागरिकलाई बचाउन सकिन्थ्यो होला,’ अर्यालले भनिन्।

अब सरकारको प्राथमिकता प्रभावित नागरिकको पुनर्स्थापना हुनुपर्ने उनको भनाइ छ। विपद्को समयमा सरकारलाई आफ्नो साथ र सहयोग रहने स्पष्ट पार्दै अर्यालले भएका कमीकमजोरीका विषय भने संसद्मा उठाइने बताइन्।