कात्तिक ३, काठमाडौं ।
इस्लामिक अतिवादीबाट मारिएका शिक्षक स्यामुअल पटीको समर्थनमा फ्रान्सभरि हजारौँ मानिसहरू जुलुसहरूमा सहभागी भएका छन् ।
राजधानी पेरिसमा मानिसहरूले फ्रेन्स भाषामा ‘म शिक्षक हुँ’ लेखिएका प्लेकार्ड बोकेका थिए । प्रधानमन्त्री जँ क्यास्टेस्कसँग उनीहरूले ‘हामी फ्रान्स हौँ’ भनेर नाराबाजी गरेका थिए ।
उनीहरूले एउटा प्लेकार्डमा ‘उनीहरूले गणतन्त्रको शिर छेद गर्न सक्ने छैनन्’ भनेर लेखेका थिए ।
आफ्ना विद्यार्थीहरूलाई पैगम्बर मोहमदको कार्टुन देखाएको भन्दै शुक्रवार एकजना चेचेन युवाले पटीको शिरछेद गरेर हत्या गरेका थिए । पेरिस नजिक रहेको स्कूलछेवैमा स्यामुअल पटीको हत्या गरिएको थियो ।
त्यसलगत्तै अब्दुल्लख ए नाम गरेका ती व्यक्तिको प्रहरीको गोली प्रहारबाट मृत्यु भएको थियो । प्रहरीले आक्रमणकारीको वास्तविक नाम सार्वजनिक गरेको छैन ।
उक्त घटनाको अनुसन्धानका क्रममा अहिलेसम्म ११औँ व्यक्ति पक्राउ परे पनि त्यसबारे कुनै जानकारी दिइएको छैन । घटनालगत्तै पक्राउ पर्नेमा ती सन्दिग्ध व्यक्तिका चारजना नजिकका आफन्तसमेत छन् ।
शनिवार थप पक्राउ गरिएकामा एकजना विद्यार्थीका पिता र फ्रेन्च मिडियाले अतिवादी इस्लामवादी भनेर चिनाएका एकजना धर्मप्रचारकसमेत छन् ।
सरकारको प्रतिक्रिया
राष्ट्रपति इमान्यूअल म्याक्रोँले उक्त हमलाले सबै ‘इस्लामिक आतङ्कवादी हमला’को सीमाना पार गरेको र ’अभिव्यक्ति स्वतन्त्रता पढाएकै कारण ती शिक्षक मारिएको’ बताएका छन् ।
फ्रेन्च प्रधानमन्त्री जँ क्यास्टेक्सले देशभर ठूला जुलुसमा सहभागी मानिसहरूलाई उनकै शब्दमा ‘फ्रान्स नडराएको’ र ‘आफूहरूलाई विभाजित पार्न नदिने’ बताएका छन् ।
अर्थमन्त्री ब्रुनो ले–मेरले केही इस्लामिक सङ्गठनहरूमा रकम आदानप्रदान हुने व्यवस्थामा थप नियन्त्रण गर्न आफूले अब प्रस्ताव गर्ने बताएका छन् । त्रस्त मानिसहरू देशको धर्मनिरपेक्ष मान्यताको समर्थनमा विभिन्न शहरमा भेला भएका छन् ।
उक्त हत्या त्यस्तोबेला भएको छ, जतिखेर सन् २०१५ मा एउटा व्यङ्ग्य पत्रिका शार्ली एब्डोमा पैगम्बर मोहमदको कार्टुन छापिएको भन्दै भएको एउटा हमलाका आक्रमणकारीमाथिको अदालती सुनुवाइ भइरहेको छ ।
शुक्रवार मध्याह्न ती हत्याराले पटीले पढाउने स्कूल पुगेर विद्यार्थीहरूलाई ती शिक्षक चिनाउन आग्रह गरेका थिए ।
मस्कोमा जन्मिएका चेचेन मूलका १८ वर्षीय अब्दुल्लख ए को ती शिक्षक र विद्यालयसँग कुनै सम्बन्ध थाहा भएको छैन ।
उनले ती शिक्षक पटी घर जाने बेलामा पछ्याएका थिए । उनले छुरीले पटीको टाउकोमा प्रहार गरी उनको शिरछेद गरेका थिए । (एजेन्सी)







