काठमाडौँ । उद्योग विभागले उद्योग प्रशासनसँग सम्बन्धित सेवा, प्रक्रिया र आवश्यक कागजातबारे सेवाग्राहीलाई जानकारी दिन २४ घण्टे निःशुल्क एआई कल सेन्टर सञ्चालनमा ल्याएको छ।
विभागले भदौ २४ गते जारी गरेको सूचनाअनुसार सोही दिनदेखि एआईमा आधारित कल सेन्टर सञ्चालनमा आएको हो। सेवाग्राहीले ९७००००४४१७ नम्बरमा फोन गरी उद्योग प्रशासनसँग सम्बन्धित जिज्ञासा राख्न तथा आवश्यक जानकारी लिन सक्नेछन्।
विभागका अनुसार कल सेन्टरबाट उद्योग दर्ता तथा दर्तापछिका सेवा, विदेशी लगानी स्वीकृति, व्यावसायिक भिसा सिफारिस, वातावरणीय स्वीकृति, ट्रेडमार्क दर्तालगायत विषयमा जानकारी प्राप्त गर्न सकिनेछ।
२४ घण्टा सेवा
एआई कल सेन्टर चौबीसै घण्टा सञ्चालन हुने विभागले जनाएको छ। सेवाग्राहीले कार्यालय समयबाहेक पनि फोनमार्फत आफूलाई आवश्यक सूचना लिन सक्नेछन्।
कल सेन्टरमा विभागबाट उपलब्ध हुने सेवा, सेवा प्राप्त गर्ने प्रक्रिया, आवश्यक कागजात तथा सम्बन्धित विषयमा जानकारी समेटिएको छ। विभागले सेवाग्राहीका जिज्ञासा र समाधानका लागि कल सेन्टरको प्रयोग गर्न आग्रह गरेको छ।
विभागले प्रणालीको ज्ञानको दायरा भने क्रमशः विस्तार गर्दै लैजाने जनाएको छ। नयाँ विषय तथा सूचनाहरू थप गर्दै प्रणालीलाई थप परिष्कृत र अद्यावधिक गरिने विभागको भनाइ छ।
अनलाइन सेवापछि एआईमा जोड
एआई कल सेन्टर सञ्चालनमा ल्याउनुअघि नै उद्योग विभागले सेवा प्रवाहमा अनलाइन प्रणालीको प्रयोग विस्तार गर्दै आएको थियो।
विभागले साउन १३ गते जारी गरेको सूचनामा अधिकांश सेवा अनलाइन प्रणालीमार्फत सञ्चालन भइरहेको र बाँकी सेवासमेत क्रमशः अनलाइन प्रणालीमा लैजाने प्रक्रिया अघि बढिरहेको जनाएको थियो।
अनलाइन प्रणालीमार्फत सेवा लिँदा सेवाग्राहीको भौतिक उपस्थितिलाई सकेसम्म कम गर्ने व्यवस्था गरिएको छ। कार्यालयमा उपस्थित हुनुपर्ने अवस्थामा सम्बन्धित प्रतिष्ठानका सञ्चालक, कर्मचारी वा आधिकारिक प्रतिनिधि परिचयपत्रसहित उपस्थित हुनुपर्ने व्यवस्था गरिएको विभागले जनाएको छ।
उद्योग व्यवस्थापन सूचना प्रणालीमार्फत सहायक सेवाका आवेदन तथा आवश्यक कागजातसमेत अनलाइन उपलब्ध गराउने व्यवस्था गरिएको छ। उद्योग दर्ता तथा दर्तापछिका सेवा, विदेशी लगानी स्वीकृति, व्यावसायिक भिसा सिफारिस, वार्षिक प्रगति विवरण, छुट–सुविधा तथा सहुलियत सिफारिस र वातावरणीय स्वीकृतिसम्बन्धी विभिन्न सेवा अनलाइन प्रणालीमा समेटिएका छन्।
बस्नेतको कार्यकालमा सुरु
एआई कल सेन्टर उद्योग विभागका महानिर्देशक जितेन्द्र बस्नेतको कार्यकालमा अघि बढाइएको सेवा हो। बस्नेत विभागबाट बिदाइ भएकै दिन यो सेवा सार्वजनिक गरिएको हो।
उनको कार्यकालमा विभागको सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने तथा सेवाग्राही र कर्मचारीबीचको प्रत्यक्ष सम्पर्क घटाउँदै प्रणालीमा आधारित सेवा विस्तार गर्ने प्रयास गरिएको विभागका कर्मचारीहरू बताउँछन्।
अनलाइन सेवा विस्तारपछि सेवासम्बन्धी सूचना र जिज्ञासाका लागि एआई कल सेन्टर थपिनुलाई विभागको डिजिटल सेवा विस्तारकै अर्को चरणका रूपमा हेरिएको छ।
यसैबीच, तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवको निर्णयपछि बस्नेतको सरुवा भएको थियो। त्यसपछि उनी विभागबाट बिदाइ भएका हुन्।
बस्नेतको सरुवाको विषयलाई लिएर विभागभित्र समेत चासो देखिएको कर्मचारीहरू बताउँछन्। मन्त्री यादवले त्यसअघि मन्त्रालयका सचिवसहितको उपस्थितिमा आफूले अपेक्षाअनुसार काम गर्न नसक्नुमा कर्मचारीबाट पर्याप्त सहयोग नपाएको आशयको असन्तुष्टि व्यक्त गरेकी थिइन्।
मन्त्रीको उक्त अभिव्यक्तिप्रति कर्मचारी वृत्तमा भने फरक प्रतिक्रिया देखिएको थियो। केही कर्मचारीले नीतिगत तथा नेतृत्व तहको जिम्मेवारी कर्मचारीमाथि सार्न खोजिएको भन्दै असन्तुष्टि जनाएका थिए।






