नियम तोडेको आलोचनापछि डच राजपरिवार स्वदेश फर्किए

कात्तिक ३, काठमाडौं ।
कोरोनाभाइरस महामारीका बेला बिदा मनाउन विदेश हिँडेका डच राजपरिवारका सदस्यको आलोचना भएपछि उनीहरू भोलिपल्टै स्वदेश फर्किएका छन् ।

राजा विलेम र रानी म्याक्सिमा शुक्रवार ग्रीसतिर लागेका थिए । तर शनिवार साँझ नै फर्किनुपर्यो । नयाँ आंशिक लकडाउन लगाउन शुरू गरिएका बेला उनीहरू ग्रीसतर्फ लागेका थिए ।

उनीहरूले कुनै नियम तोडेका थिएनन् तर तीव्र आलोचनाबाट आफूहरू प्रभावित भएको उनीहरूले बताए ।

कोभिड १९ फैलिन नदिन सर्वसाधारणलाई घरमै बस्न सुझाइएका बेला सरकारी विमानमा ग्रीसतिर बिदा मनाउन गएको भन्दै राजपरिवारको तीव्र आलोचना भएको थियो ।

त्यसपछि उनीहरू पहिले केएलएमको नियमित उडानबाट स्वदेश फर्किएका थिए । त्यहाँको दरबारको विज्ञप्तिमा भनिएको छ, ‘कोभिड–१९ भाइरस नियन्त्रणमा लिन निर्धारित निर्देशिका पालना हुनुपर्छ भन्नेबारे कुनै शङ्का छैन । हाम्रो बिदा मनाउने विषयमाथि भइरहेको बहसले त्यसलाई सहयोग पु¥याउँदैन ।’

नेदरल्यान्डको दैनिक राज्य सञ्चालन प्रक्रियामा डच राजपरिवारको कुनै औपचारिक भूमिका रहन्न । तर प्रधानमन्त्रीले नेतृत्व गरेको मन्त्रालय राजपरिवार के भन्छ र के गर्छ भन्नेबारे जिम्मेवार रहन्छ ।

त्यसैले कतिपय सांसदहरूले प्रधानमन्त्रीले राजपरिवारका सदस्यलाई उनीहरूको बिदा रद्द गर्ने सुझाव दिए कि दिएनन् भन्नेबारे स्पष्टिकरण दिन आग्रह गरेका छन् ।

नेदरल्यान्डमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै गइरहेको छ । शनिवार मात्रै त्यहाँ आठ हजारभन्दा बढी नयाँ केस थपिएका थिए ।

बारहरू रेस्टुराँहरू र कफी शपहरू चार साताका लागि बन्द गरिएका छन् । राजकीय जोडी उनीहरूको व्यवहारका कारण सार्वजनिक बहसमा आएको यो पहिलोपटक भने होइन ।

अगष्ट महिनामा अघिल्लो ग्रीस भ्रमणको क्रममा एक रेस्टुरेन्टमा उनीहरूले सामाजिक दूरीको नियम भङ्ग गरेको तस्बिर सार्वजनिक भएको थियो । (एजेन्सी)