उद्धार कोषको रकम बाढीपीडितलाई बाँड्न सरकार कुन साइत कुरेर बसेको छ : सांसद गुरुङ

काठमाडौं — नेपाली कांग्रेसकी सांसद गीता गुरुङले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भएको रकम बाढीपीडितको राहत तथा उद्धारमा खर्च गर्न सरकार उदासीन बनेको आरोप लगाएकी छन्।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद गुरुङले विशेषगरी रसुवाका बाढीपीडितले पर्याप्त राहत पाउन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराइन्।

उनले उद्धार कोषमा रकम जम्मा गरेर मात्र बाढीपीडितको समस्या समाधान नहुने बताउँदै प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउन माग गरिन्।

‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भएको पैसा खर्च गर्न सरकारले कुन साइत कुरिरहेको छ ?’ गुरुङले प्रश्न गरिन्।

उनका अनुसार बाढीका कारण प्रभावित नागरिकमध्ये जेनतेन बचेका परिवारलाई समेत तत्काल आर्थिक सहयोग आवश्यक छ। उनले प्रभावित नागरिकको बैंक खातामै पुग्ने गरी नगद राहत उपलब्ध गराउन सरकारसँग माग गरिन्।

‘बाढीप्रभावित नागरिक जो जेनतेन बचेका छन्, उनीहरूको खातामा जाने गरी नगदमा पनि पैसा जानुपर्‍यो,’ उनले भनिन्, ‘उद्धार कोषमा पैसा थुपारेर मात्रै बाढीपीडितलाई राहत पुग्दैन।’

गुरुङले उद्धार कोषमा रहेको रकम प्रभावकारी रूपमा परिचालन गरी विपद्मा परेका नागरिकलाई तत्काल राहत र पुनर्स्थापनाको व्यवस्था गर्न सरकारसँग आग्रह गरिन्।