काठमाडौं। रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित शिक्षा क्षेत्रको पुनरुत्थानका लागि सरकारले २ अर्ब ३४ करोड ३२ लाख १७ हजार ५०० रुपैयाँ आवश्यक पर्ने अनुमान गरेको छ।
राष्ट्रिय योजना आयोग, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलगायत निकायका संयुक्त प्राविधिक टोलीले तयार पारेको ‘द्रुत क्षति तथा आवश्यकता आकलन’ प्रतिवेदनअनुसार बाढीबाट जिल्लाका १८ वटा विद्यालय प्रभावित भएका छन्। तीमध्ये ११ वटा विद्यालय भवन पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने ७ वटा विद्यालयमा आंशिक क्षति पुगेको छ।
बाढीका कारण विद्यालय भवनमा मात्र नभई त्यहाँ रहेका शैक्षिक सामग्री, फर्निचर तथा अन्य सम्पत्तिमा समेत ठूलो क्षति पुगेको छ। बाढीपछि ९ हजारभन्दा बढी विद्यार्थीको पठनपाठन प्रभावित भएको प्रतिवेदनमा उल्लेख छ।
पठनपाठन तत्काल सञ्चालनमा ल्याउन तथा क्षतिग्रस्त संरचनाको व्यवस्थापनका लागि १० करोड ५० लाख रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ। यस्तै, दीर्घकालीन पुनर्निर्माण तथा पुनरुत्थानका लागि २ अर्ब २३ करोड ८२ लाख १७ हजार ५०० रुपैयाँ आवश्यक पर्ने देखिएको छ।
सरकारले बाढी प्रभावित विद्यार्थीलाई लक्षित गर्दै ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ समेत घोषणा गरेको छ। यस योजनाअन्तर्गत प्रभावित विद्यार्थीलाई शैक्षिक निरन्तरताका लागि सहयोग उपलब्ध गराइनेछ।
सरकारको आग्रहमा नेपालका निजी विद्यालयसम्बन्धी पाँच वटा संस्थाले पनि बाढी प्रभावित विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न १ अर्ब रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
यसैबीच, बाढीका कारण विस्थापित भई विभिन्न स्थानमा बसिरहेका विद्यार्थीको पठनपाठन तत्काल सुचारु गर्न सम्बन्धित स्थानीय तहले उनीहरूलाई पायक पर्ने विद्यालयमा अध्ययनको व्यवस्था मिलाउन सहजीकरण गरिरहेका छन्।






