ड्रोन आक्रमणपछि साउदीको महत्वपूर्ण तेल पाइपलाइन बन्द

दुबई । मध्यपूर्वमा युद्ध चर्किएसँगै साउदी अरबले आफ्नो महत्वपूर्ण पूर्व–पश्चिम तेल पाइपलाइन अस्थायी रूपमा बन्द गरेको छ । साउदी ऊर्जा मन्त्रालयका अनुसार ड्रोन आक्रमणपछि सुरक्षा सावधानीस्वरूप १ हजार २ सय किलोमिटर लामो पाइपलाइन बन्द गरिएको हो। बिहीबार रियाद र मदिना क्षेत्रमा पाइपलाइनमा आक्रमण भएको थियो ।

साउदी अरब र इराकले उक्त ड्रोन इराकबाट आएको बताएका छन्। इराकमा इरानसमर्थित सशस्त्र समूह सक्रिय छन्। आक्रमणपछि इराकले एक सैन्य कमान्डरलाई पदबाट हटाएको छ।

पछिल्ला महिनामा उक्त पाइपलाइनबाट दैनिक ४० देखि ५० लाख ब्यारेल तेल प्रवाह हुँदै आएको थियो, जुन विश्वव्यापी तेल आपूर्तिको करिब ४ देखि ५ प्रतिशत हो।

होर्मुज जलडमरूमध्यमा अमेरिका–इरान युद्धका कारण तेल ट्यांकरको आवागमन निकै घटेपछि उक्त पाइपलाइन साउदी अरबका लागि वैकल्पिक तेल निर्यात मार्गका रूपमा महत्वपूर्ण बनेको थियो।

यसैबीच, यमनका इरानसमर्थित हुथी विद्रोहीले लाल सागरमा आफ्नो पकड थप बलियो बनाएका छन् । यमन सरकारका स्रोतका अनुसार हुथीहरूले शुक्रबार लाल सागरको प्रवेशद्वार बाब अल–मन्देब जलडमरूमध्यनजिक रहेको रणनीतिक पेरिम द्वीप कब्जा गरेका छन् ।

पाइपलाइनमाथिको आक्रमण र पेरिम द्वीप कब्जाको घटनाले मध्यपूर्वको युद्ध थप विस्तार हुन सक्ने चिन्ता बढाएको छ। कूटनीतिक प्रयासमार्फत युद्ध अन्त्य गर्ने पहलसमेत पछिल्लो समय रोकिएको छ।

यी घटनाका कारण विश्व ऊर्जा बजारमा समेत दबाब बढेको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य पुनः प्रतिब्यारेल १०० डलरभन्दा माथि पुगेको छ।

साउदी अरबले हुथी विद्रोहीविरुद्ध सैन्य सहयोगका लागि अमेरिकासँग आग्रह गरेको स्रोतहरूले बताएका छन्। युद्धका कारण बढेको इन्धन मूल्यले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको रिपब्लिकन पार्टीमाथि समेत राजनीतिक दबाब बढाएको छ।

स्याटेलाइट तस्बिरमा मदिनाको दक्षिणी क्षेत्रमा पाइपलाइनबाट कालो धुवाँ निस्किएको देखिएको थियो। आक्रमणमा केही व्यक्ति घाइते भएको र क्षतिको मूल्यांकन भइरहेको साउदी विदेश मन्त्रालयले जनाएको छ।