कर्णाली नेपाल भलिबल लिगको फाइनलमा

काठमाडौँ । कर्णाली शिवराज नेपाल भलिबल लिग (एनभीएल) को फाइनलमा प्रवेश गरेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्लेअफ खेलमा काठमाडौँ रेड्सलाई ३–१ को सेटमा पराजित गर्दै कर्णालीले उपाधि भिडन्त पक्का गरेको हो।

कर्णालीले पहिलो सेट २५–२१ ले जिते पनि दोस्रो सेटमा काठमाडौँले २५–२० को जित निकाल्दै खेल बराबरीतर्फ अघि बढाएको थियो। त्यसपछि कर्णालीले तेस्रो सेट २५–२३ र चौथो सेट २५–२२ ले आफ्नो पक्षमा पार्दै फाइनलमा स्थान बनायो।

कर्णालीका अलिरेजा अबालुच ‘म्यान अफ द म्याच’ घोषित भए।

लिग चरणमा कर्णाली ११ अंकसहित दोस्रो तथा काठमाडौँ रेड्स १० अंकसहित तेस्रो स्थानमा रहँदै प्लेअफमा पुगेका थिए। अब कर्णालीले उपाधिका लागि शनिबार अन्नपूर्ण स्पाइकर किङ्ससँग प्रतिस्पर्धा गर्नेछ।

अन्नपूर्ण स्पाइकर किङ्स भने शुक्रबार नै लिगको शीर्ष स्थानमा रहँदै सोझै फाइनलमा प्रवेश गरेको थियो। अन्नपूर्णले लिग चरणमा १२ अंक जोडेको थियो।

पहिलो पटक आयोजना भइरहेको एनभीएलको विजेताले २० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ।