आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको छ।

मनसुनी वायुको प्रभावका कारण हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। कोशी, मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। हिमाली भूभागका केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ भने पहाडी भूभागका धेरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ।

त्यस्तै, कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेस, बागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभाग, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभाग तथा लुम्बिनी प्रदेशको तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

आज राति पनि देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

तराई भूभागका थोरै स्थानमा पनि चट्याङ्गसहित मध्यम वर्षा हुन सक्नेछ। कोशी प्रदेशको तराई भूभागका एक–दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।