काठमाडौं: देशको लाइफलाइन मानिने पृथ्वी राजमार्गअन्तर्गत कृष्णभिर खण्डमा अहिले सवारीसाधनको चापभन्दा पनि स्काभेटरको आवाज गुञ्जिरहेको छ। केही दिनअघिको बाढीका कारण त्रिशूली नदीले सडकको करिब २०० मिटर हिस्सा कटान गरेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। सडक विभागको टोली अहिले भित्ता काटेर नयाँ डाइभर्सन निर्माणमा जुटेको छ।
नागढुंगा-मुग्लिन सडक योजना (पश्चिम खण्ड) का सूचना अधिकारी इन्जिनियर सचिन्द्र मिश्रका अनुसार नदीले सडकको तल्लो भाग कटान गर्दा सडक पूर्ण रूपमा बगेको हो। विभागले ९ देखि १० वटा हेभी इक्विपमेन्ट परिचालन गरी दिनरात काम गरिरहेको छ। मिश्र भन्छन्, ‘यो महिनाको अन्त्यसम्म हामी सप्लाइ चेनलाई जोड्ने गरी डाइभर्सन सडक सञ्चालनमा ल्याउने गरी काम गरिरहेका छौँ।’
सडक बन्द हुँदा स्थानीयको जनजीवन कष्टकर बनेको छ। स्थानीय व्यवसायी अरुण थपलियाका अनुसार सडक छेउका होटल तथा पसलहरू ठप्प छन्। उनले भने, ‘यति व्यस्त राजमार्गमा अहिले एउटा पसल खुला छैन। अहिले हामीले केही किन्नुपर्यो, खानुपर्यो भने पनि केही पाइने अवस्था छैन।’ स्थानीय शिव बस्नेतले सडक अवरुद्ध हुँदा इन्धनको मूल्य वृद्धि, महँगी र किसानको उत्पादन बजारसम्म नपुग्ने समस्या बढेको बताए।
स्थानीयहरूले कृष्णभिरमा पहिरोको जोखिमबारे पहिले नै सचेत गराएको भए पनि सुनुवाइ नभएको गुनासो गरेका छन्। र्याफ्टिङ गाइडसमेत रहेका थपलियाले भने, ‘मैले पहिलेदेखि स्थानीय सरकारलाई वार्निङ दिइरहेको थिएँ, रुखहरू नकाटौँ, खयरहरू चोरी भइरहेको छ, पहिरो जान सक्छ भनेर। तर कसैले वास्ता गरेनन्।’
सडक विभागले एक साताभित्र डाइभर्सन खुलाउने लक्ष्य राखे पनि स्थानीयहरू दिगो समाधानको खोजीमा छन्। सडक निर्माणमा खटिएका प्राविधिक पशुपति देवका अनुसार विभागले तयार पारेको नयाँ एलाइन्मेन्टअनुसार भित्ता काट्ने काम भइरहेको छ। अहिले सडक पूर्ण रूपमा अवरुद्ध भएको एक हप्ता बितिसकेको छ।






