धादिङ — नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढी प्रभावित क्षेत्रमा तत्काल राहत र अस्थायी व्यवस्थापनसँगै स्थायी पुनर्निर्माण तथा पुनःस्थापनालाई प्राथमिकता दिनुपर्ने बताएका छन्।
धादिङको गल्छी गाउँपालिकास्थित बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्दै दाहालले बाढीका कारण ठूलो मानवीय तथा भौतिक क्षति भएको भन्दै प्रभावितको पुनःस्थापना र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा विशेष ध्यान दिनुपर्ने बताए।
‘भौतिक क्षति ठूलै भएको छ। अब बाढी प्रभावितका लागि राहतसँगै अस्थायी र स्थायी पुनर्निर्माण तथा पुनःस्थापनाको काममा ध्यान केन्द्रित गर्नुपर्छ,’ उनले भने।
दाहालले विपद् आएलगत्तै नेकपाले आफ्नोतर्फबाट उद्धार, राहत तथा व्यवस्थापनका लागि पहल गर्दै आएको जानकारी दिए। बाढीपछि पार्टीले प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यमा सक्रिय हुन नेता तथा कार्यकर्तालाई परिचालन गरेको र त्यसपछि बैठक बसेर विपद्पछिको अवस्थाबारे छलफल गरिएको उनले बताए।
विपद् व्यवस्थापनको अनुभव भएका पार्टी नेता गङ्गालाल तुलाधरको नेतृत्वमा राहत तथा पुनःस्थापनासम्बन्धी कामको समन्वय गर्न समिति गठन गरिएको दाहालले जानकारी दिए। उनका अनुसार पार्टीका नेता तथा कार्यकर्तालाई प्रभावित क्षेत्रमा परिचालन गरिएको छ।
दाहालले बाढी प्रभावित क्षेत्रमा पार्टीको युवा संगठन योङ कम्युनिष्ट लिग (वाइसीएल)ले गरेको कामको समेत प्रशंसा गरे।
‘हाम्रा युवाहरू, मुख्यतः वाइसीएलले यसपटक प्रभावित क्षेत्रमा गएर समन्वयात्मक काम गरेका छन्। म उहाँहरूलाई धन्यवाद दिन चाहन्छु,’ उनले भने।
बाढीपछि प्रभावित क्षेत्रको पछिल्लो अवस्था, भएको क्षति तथा राहत र पुनःस्थापनाका प्रयासबारे जानकारी लिन दाहाल धादिङको गल्छी पुगेका हुन्।






