नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

काठमाडौं– नापी कार्यालय धनुषाले नापजाँच सम्पन्न भएको करिब पाँच वर्षपछि धनुषाको शहीदनगर नगरपालिका–८ (साविक ठिला गाउँ विकास समिति) का ३८५ परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ।

लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका ३८५ परिवारले अब औपचारिक रूपमा आफ्नो जग्गाको कानुनी स्वामित्व प्राप्त गरेका छन्।

नापजाँच सम्पन्न भए पनि जग्गा दर्ताका लागि आवश्यक प्रक्रियामा स्थानीयको सहभागिता न्यून हुँदा पुर्जा वितरणको काम लामो समयदेखि रोकिएको थियो। आवश्यक प्रक्रिया पूरा गरेपछि नापी कार्यालयले नापनक्सा भइसकेका जग्गाको ३८५ थान जग्गाधनी पुर्जा वितरण गरेको हो।

यसअघि सोही नगरपालिकाका वडा नं. ४, ५, ६ र १० का गरी ३ हजार २२६ परिवारलाई जग्गाधनी पुर्जा वितरण गरिएको थियो।