प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी रहेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज बिहान ९ बजेसम्म कोषमा रु १३ अर्ब ५४ करोड ९ लाख ३ हजार ११७ मौज्दात रहेको छ।

कार्यालयका अनुसार भदौ २६ गते साँझ ५ बजेदेखि आज बिहान ९ बजेसम्म मात्रै कोषमा रु २८ करोड २० लाख १४ हजार ३६६ थपिएको छ। उक्त रकम कोषका लागि विभिन्न नौ वटा बैंकमा खोलिएका खातामा जम्मा भएको हो।

यसअघि सरकारले बाढी प्रभावितको उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट रु १ अर्ब राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत निकासा गरिसकेको छ।

त्यसैगरी, कोषका दुई वटा बैंकमा रहेका अमेरिकी डलर खातामा पनि रकम थपिने क्रम जारी छ। भदौ २६ गते साँझ ५ बजेपछि ती खातामा १ लाख ५४ हजार ७७० अमेरिकी डलर थपिएको छ। यससँगै डलर खातामा रहेको कुल रकम २ करोड ३४ लाख ३८ हजार ८४७ अमेरिकी डलर पुगेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।